महिला मजदुरको इँटा खसेर मृत्यु
२६ पुस, राजविराज । उद्योगमा इँटा चाङ लगाइरहेकी एक महिला मजदुरको शरिरमाथि इँटा खसेर सोमबार मृत्यु भएको छ ।
सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित बिशाल ईट्टा उद्योगमा कार्यरत सोही वडाका दुखन सरदारकी श्रीमती ५० वर्षीया जतरीदेवी सरदारको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
इँटा पकाउने तयारीका लागि चाङ लगाउने क्रममा लडेको ईट्टाको पर्खालले थिचिएर सरदार घाइते भएकी थिइन् ।
घाइते सरदारको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
दुर्घटनामा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का ५० वर्षीय मंगल सदा र भारत रायबरेली मधुवनका ४० वर्षीय रमेशकुमार लौदी घाइते भएका छन् ।
घाइते दुवै जनाको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्