महिला फुटबल टोलीका ४० खेलाडी यू–१९ प्रशिक्षणमा

७ मंसिर काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू–१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो ।

frontline

एन्फाले बंगलादेशमा आयोजना हुने यू–१९ साफ च्याम्पियनसिपका लागि हरिओम श्रेष्ठलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । प्रशिक्षक हरि ओमले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा ६ खेलाडी राष्ट्रिय महिला टोलीका सदस्य छन् ।

घोषित टोलीमा अन्जना राना मगर, विमला विक, प्रीतिकुलुङ राई, सविता राना मगर, रजनी थोकर र रश्मिकुमारी घिसिङ राष्ट्रिय टोलीका सदस्य हुन् । ६ खेलाडीले गत वर्ष भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिप खेलेका थिए ।

अन्जनाबाहेक अन्यले दशरथ रंगशालामा साउनमा भएको दुई मैत्रीपूर्ण खेल क्रममा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए ।

यस्तै सुष्मा तामाङ, रोजिना श्रेष्ठ, सलोनी राना मगर, रेनुका हमाल, मेनुका आले मगर, अमिशा कार्कीले यसअघि नै यू–१८ साफ च्याम्पियनसिप खेलेका थिए । मुख्य प्रशिक्षकमा हरिओम रहँदा सहायक प्रशिक्षकमा गंगा गुरुङले जिम्मेवारी पाएकी छन् भने गोलरक्षक प्रशिक्षकमा प्रकाश वैद्य छन् ।

ढाकामा हुने साफ ११ देखि २२ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, आयोजक बंगलादेश, श्रीलंका र भुटानको सहभागिता हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा ११ डिसेम्बर आयोजक बंगलादेशको सामना गर्नेछ । दोस्रो खेल १५ डिसेम्बरमा श्रीलंकासँग खेल्दा १७ डिसेम्बरमा भुटानविरुद्ध खेल्नेछ । नेपालले सिंगल राउन्ड रोबिनको अन्तिम तथा चौथो खेलमा भारतसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली
अन्जना राना मगर, लीला जोशी, पूजा थापा, अंकिता राई, सावित्री किशन, मञ्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, गंगाकुमारी चौधरी, रोजिना श्रेष्ठ, विमला बिक, प्रिया बस्नेत, गोमा रोकाया, खुस्मा राई, कुमारी तामाङ, सुस्मिता चौधरी, सुष्मा तामाङ, तुलसा बोहरा, हिमा रावत, सरला बज्राचार्य, मनिषा सेन, सुस्मा जिटी, सरस्वती रोकाया, सुरक्षाकुमारी सिंह, दिपा शाही, प्रीतिकुलुङ राई, सविता राना मगर, सुन्कला राई, रेनुका हमाल, अन्जली मचामसी, मेनुका आले मगर, रजनी थोकर, रश्मिकुमारी घिसिङ, सदिपा भोलन, चन्द्रा भण्डारी, कुशुम खतिवडा, अमिशा कार्की, सुनिता तामाङ, जेनिफर राना ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here