महिला एसिया कप क्रिकेट खेलेर फर्कियो नेपाली टोली
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला एसिया कप खेलेर विहीबार स्वदेश फर्किएको छ ।
नेपालले प्रतियोगिताको समूह चरणमा यूएई, पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगिताको इतिहासमा पहिलो जित समेत दर्ता गरेको थियो । त्यसपछि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेट र भारतसँग तेस्रो खेलमा ८२ रनले पराजित भएपछि नेपालको यात्रा समूह चरणमा समाप्त भयो ।
स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा कप्तान इन्दु वर्माले भारत र पाकिस्तानजस्तो बलिया टोलीसँग खेल्न धेरै पक्षमा सुधार आवश्यकता रहेको बताइन् । ‘एसिया कपमा ऐतिहासिक सफलता निकाल्यौं । तर ठूला टोलीविरुद्ध खेल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गर्न आवश्यक छ,’ उनले भनिन् ।
कप्तान इन्दुले युएइसँग जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको र सफल भएको बताइन् । ‘यूएईलाई जितेर इतिहास रच्न सफल भयौं । पाकिस्तानसँग पनि राम्रो खेल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य थियो तर सोचेजस्तो भएन । तर टेस्ट राष्ट्रसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको छ,’ कप्तान इन्दुले थपिन् ।
फ्लड लाइटमा खेल्दा फिल्डिङ केही गल्ती भएपनि फ्लड लाइटका कारण धेरै समस्या नभएको इन्दुले बताइन् । भारत र पाकिस्तानजस्तो राम्रो टोलीसँग खेल्दा दबाबका बीच कसरी खेल्ने लगायत धेरै कुरा पनि सिकेर आएको उनले अनुभव साटिन् ।
प्रतिक्रिया दिनुहोस्