महालक्ष्मीलाई धेरै मेहनतका साथ आजको स्थानमा ल्याएका छौँ : पुर्व मेयर नेपाल
फ्रन्टलाइन, धनकुटा, जेठ १० । महालक्ष्मी नगरपालिका धनकुटाका निवर्तमान नगरप्रमुख पर्शुराम नेपालले यस पटक फरक दल (गठबन्धन) ले चुनाव जितेकोमा आम मतदातालाई निराश नबन्न भन्नुभएको छ । यसअघि एमालेको किल्लाको रुपमा रहेको महालक्ष्मी नगरपालिकाको नगरप्रमुखमा अहिले गठबन्धनको उमेदवारका रुपमा रहनुभएका नेपाली काँग्रेसका ध्रुव राय निर्वाचित हुनुभएको छ ।
एमालेका उमेदवार दिपक बुढाथोकीलाई पराजित गर्दै गठबन्धन उमेदवार निर्वाचित भएपछि पुर्व मेयर नेपालले आफ्नो पदावधी सकेर बिदा हुँदै गर्दा एक धन्यवाद पत्र सार्वजनिक गर्दै सो उल्लेख गर्नुभएको हो । पत्रमा उहाँले महालक्ष्मीमा फेरी सूर्य उदाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले पहिलो पटक आफू मेयर जितेर नगरपालिकामा आँउदा कुनै संरचना नभएकोले शुन्यबाट काम थालेर अहिलेको अवस्थामा ल्याइपुर्याएको स्मरण गर्नुभएको छ । नगरबासीका लागि आफूले सकेसम्म राम्रो काम गरेको दाबी गर्दै कहींकतै गल्ती भए क्षमा दिन नगरबासीलाई अनुरोध गर्नुभएको छ ।
धन्यवाद ज्ञपानमा नेपालले लेख्नुभएको छ आज गाउँका बा आम सुस्ताउने चौतारी गाउँमा बनेका छन्,रुदैं गरेका नानीहरु भुलाउन पार्क बनेका छन् । गाउँभरी सडकका रेखा कोरिएका छन् । यो दुर्गम गाउँको नगरपाकलालाई सहरी सुविधा दिने भरपुर प्रयत्न हामीले गरेका थियौं ।
महालक्ष्मीमा एमाले हारे पनि त्यसलाई घाम अस्ताएको रुपमा नबुझ्न नगरबासीलाई नेपालले आग्रह गर्नुभएको छ । नेपालले लेख्नुभएको छ यस बर्ष महालक्ष्मीमा बादलले घामलाई छेक्यो । तर घाम अस्ताएको होइन । महालक्ष्मीको डाँडामा फेरी घाम उदानेछ । बादल केही समयमा नै फाट्छ । कसैले चिन्ता गर्नु पर्दैन ।
प्रतिक्रिया दिनुहोस्