महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको दर्शन गर्न आज बिहानैदेखि भक्तजन
काठमाडौं : महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक महानवमीमामात्र खुल्ने तलेजु भवानी दर्शन गर्न आज बिहानैदेखि भक्तजन लाइन लागेका हुन्।
दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले आज बेलुका ६ बजेसम्म भक्तजनका लागि मन्दिर खुला नै राखिने बताए। तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ।
मूलचोकमै सोमबार महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ।
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई बिशेष महत्वका साथ लिइन्छ। नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ।






प्रतिक्रिया दिनुहोस्