महादेवपट्टीस्थित भगवती स्थान नजिक निर्माण गरेको गौर सामुदायिक विवाह भवन सञ्चालनमा
श्रीकान्त यादव रौतहट ।गौर नगरपालिकाले वडा नम्बर–२, महादेवपट्टीस्थित भगवती स्थान नजिक निर्माण गरेको गौर सामुदायिक विवाह भवन सञ्चालनमा आएको छ।
नवनिर्मित सामुदायिक विवाह भवनको आइतबार एक समारोहबीच गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले उद्घाटन गरेका हुन्। नगरवासीलाई विवाह, सामाजिक तथा पारिवारिक कार्यक्रम आयोजना गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त भवन निर्माण गरेको जनाएको छ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। भवन सञ्चालनमा आएसँगै स्थानीयवासीले विवाह तथा विभिन्न सामाजिक समारोहका लागि व्यवस्थित र सुविधायुक्त स्थल पाउने अपेक्षा गरिएको छ।
नगर प्रमुख साहले सामुदायिक आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले नवनिर्मित भवनको संरक्षण र उचित उपयोगमा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
स्थानीयवासीले आफ्नै क्षेत्रमा सामुदायिक विवाह भवन निर्माण भई सञ्चालनमा आएकामा खुसी व्यक्त गर्दै यसबाट विवाह तथा सामाजिक कार्यक्रम आयोजना गर्न सहज हुने बताएका छन्।






प्रतिक्रिया दिनुहोस्