महाकाली नदीको बहाव नेपालतर्फ फर्काइदिँदा सीमामा तनाब

फाइल फोटो

२५ फागुन, दार्चुला । महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका छन् ।

नदीको बहाव भारतीय पक्षले नेपालतर्फ फर्काएपछि दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान समेत भएको थियो।

frontline

स्थानीय रामसिंह कार्कीका अनुसार भारतीय स्काभेटर महाकाली तरिसकेर नेपालतर्फ पुगिसकेको थियो । स्थानीयले ढुङ्गा हान्न थालेपछि नदीको बहाव परिवर्तन गर्ने काम रोकेको हो ।

नेपाली नागरिकले ढुङ्गा हानेपछि भारतबाट स्थानीयले पनि नेपालतर्फ ढुङ्गा प्रहार गरेको उनले बताए ।

लास्कु खोला नजिक भारततर्फ नदी बगिरहेको र उक्त नदीको धारलाई स्काभेटर लगाएर नेपालतिर लगाउन खोज्दा बङ्गाबगरका स्थानीयले ढुङ्गा प्रहार गर्दै काम रोकेका हुन् ।

प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार नेपाली प्रशासनसँग समन्वय नै नगरिकन भारतले एकतर्फी तरिकाले महाकालीमा स्काभेटर चलाएर नदीको बहाव परिवर्तन गर्न खोज्दा दुवै देशका नागरिकका बीच मंगलबार तनाब भएको हो ।

‘नेपाली प्रशासनसँग समन्वय नै नगरी संरचना निर्माण गरिरहेको भारतले तटबन्ध निर्माणमा नेपाली भूभागबाट ढुंगा उत्खनन् गरिरहेको हुनाले स्थानीयहरू आक्रोसित भएका थिए’ प्रजिअ उपाध्यायले भने, ‘त्यसपछि भारतीय नागरिकले पनि नेपालतर्फ केही ढुङ्गा हानेको स्थानीयले हामीलाई बताएका छन् ।’ अहिले दुवै तर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरबितर गरिएको उनले बताए ।

तर महाकाली नदीलाई नेपालतर्फ फर्काउने संरचना यसअघि नै बनेका छन् । वर्षातमा नदीमा पानीको बहाव बढी भएका बेला नेपालतर्फ आउने सम्भावना हुनाले नदीको बहाव परिवर्तन नगरिकनै भारतले तटबन्ध बनाउनुपर्ने स्थानीयको माग छ ।

नेपालतर्फ आइरहेको स्काभेटर अहिले भारतीय पक्षले आफ्नो ठाउँमा लगिसकेको छ ।

यसै क्रममा दुवै देशतिर सुरक्षाकर्मी आएर स्थानीयलाई अब काम रोकिएको जानकारी दिएका छन् । साथै प्रशासनसँग समन्वय गरेर मात्र काम गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here