मलंगवाका अधिकांश स्वास्थ्य संस्था अवैध, १९ वटा अनुगमन गर्दा १५ वटालाई बन्द गर्न निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सहितको टोली अनुगमनमा आएको खबर फैलिएपछि मलंगवाका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक सञ्चालक र कर्मचारीहरू फरार भएका थिए । टोलीले १९ वटा स्वास्थ्य संस्थामा अनुगमन गर्दा १५ वटा अनाधिकृत रुपमा सञ्चालन भइरहेको पाइएको छ ।
१ चैत, जनकपुरधाम । मधेश प्रदेश सरकारले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन गर्दा १५ वटा अनाधिकृत रुपमा सञ्चालन भइरहेको पाइएको छ । ती १५ वटैलाई बन्द गर्न सरकारले निर्देशन दिएको छ ।




मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोलीले सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल र पोलिक्लिनिकहरूको विहीबार साँझ अनुगमन गरेको थियो ।
त्यसक्रममा अवैधानिक तथा अनाधिकृत रूपमा सञ्चालन भइरहेको पाइएका १५ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।
सेवा सञ्चालन अनुमति लिएका तर नवीकरण नगरेका तीन निजी स्वास्थ्य संस्थालाई भने दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको छ ।
जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री अनुगमनमा आएको खबर फैलिएपछि मलंगवाका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक सञ्चालक र कर्मचारीहरू फरार भएका थिए ।
‘चार–पाँच अस्पतालबाहेक सबैमा ताल्चा लागेको पाइयो । तीमध्ये तीनवटाले मात्र नवीकरण नभएको सेवा सञ्चालन अनुमतिपत्र देखाए,’ जनस्वास्थ्य अधिकृत ठाकुरले भने, ‘तीनलाई दुई महिनाभित्र नवीकरण गर्न भनिएको छ ।’
अनुगमनपछि जयश्री ओम हेल्थ केयर प्रालि, तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको हो ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार म्याक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसिस सेन्टर, क्ल्याण हेल्थ केयर, शीतल डेन्टल केयर प्रालि, चन्द्रकला पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिइएको छ ।
यसैगरी इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्स–रे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धीदाता हेल्थ केयर प्रालि र देवश्री पोलिक्लिनिक प्रालिलाई पनि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएको प्रेस सल्लाहकार कर्णले बताए ।
बिरामीलाई खुवाउने खाना पनि अस्वस्थकर
प्रदेश स्वास्थ्य तथा जनसंख्या जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, प्रादेशिक अस्पतालमा बिरामीहरूलाई खुवाउने खाना समेत अस्वस्थकर पाइएको छ । त्यसपछि मुख्यमन्त्री सिंहले अस्पताल प्रमुखलाई क्यान्टिन परिवर्तन गर्न निर्देशनसमेत दिए ।
त्यस्तै, आकस्मिक कक्षमा आवश्यक जनशक्ति पूर्णरूपमा परिचालन गर्न तथा अन्तरङ्ग कक्षमा उल्लिखित एम्बुलेन्स चालकका नाम हटाउन पनि निर्देशन दिइएको छ ।
मधेश प्रदेश |सर्लाही |स्वास्थ्य संस्था
प्रतिक्रिया दिनुहोस्