मन्त्री–घिसिङ टकराबले दैनिक १२ घण्टा लोडसेडिङ खेप्दै निजी क्षेत्र

भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि पूर्व क्षेत्रको औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको छ ।
७ चैत, विराटनगर । औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ सुरु भएपछि उत्पादन घटेको छ, लागत भने बढेको छ ।




भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि पूर्व क्षेत्रको औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको छ । जसले गर्दा उत्पादन ७० प्रतिशतसम्म कटौती भएको निजी क्षेत्रको दाबी छ ।
ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीचको टकराबले निजी क्षेत्र मारमा परेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना बताउँछन् ।
‘विद्युत्ले धेरै ठूलो समस्या बनायो, उद्योग चल्न गाह्रो अवस्था छ,’ उनले भने, ‘कुलमान घिसिङ मन्त्रालयलाई दोष लगाउँदैछन्, मन्त्रीले कुलमानलाई दोष लगाउँदैछन, उहाँहरूको जुँगाको लडाइँमा निजी क्षेत्रलाई अप्ठेरो पर्यो ।’
अघोषित लोडसेटिङ हुँदा उत्पादन लागत बढेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए ।
‘बजारको अवस्था खराब छ, लोडसेडिङले गर्दा उत्पादन घट्यो, लागत बढ्यो,’ उनले भने, ‘सरकारले दीर्घकालीन सोच राखेर समस्या समाधन गर्नुपर्यो ।’
विद्युत् नियमित नहुँदा नयाँ उद्योग थपिने अवस्था नरहेको उनले बताए । ‘प्रदेश सरकारले लगानी सम्मेलन पनि गर्दैछ, यस्तो अवस्थामा नयाँ उद्योग कसरी थपिन्छ ?,’ उनले भने, ‘जबसम्म विद्युत् पर्याप्त हुँदैन, तबसम्म नयाँ उद्योग लगाउने अवस्था आउँदैन ।’
अहिलेका उद्योग नै समस्यामा रहेका बेला नयाँ लगानीकर्ता आउने अवस्था नरहने भन्दै उनले विद्युत् कटौतीका कारण सिमेन्ट र छडको मूल्य बढ्ने अवस्था आएको बताए ।
अघोषित लोडसेडिङका कारण उद्योगको उत्पादन ३० देखि ४० प्रतिशतमा खुम्चिएको मोरङ उद्योग व्यापार संघ अध्यक्ष अनुपम राठी बताउँछन् ।
विद्युत् दिने भनिएको समयमा पनि बारम्बार कटौती भइरहेको उनले बताए । जसका कारण उत्पादन लागत बढेको उनको भनाइ छ । ‘सिमेन्ट, स्टिल, प्लास्टिक उद्योगलाई १२ घण्टाले पुग्दैन, मेसिन तताउन समय लाग्छ, यी उद्योग ८ घण्टा पनि चल्न सकिरहेका छैनन्,’ उनले भने ।
निर्माण सामग्रीको माग बढिरहेका बेला उत्पादन कटौती हुँदा समस्या भोग्नुपरेको उनले बताए । ‘अहिले बजारको माग थोरै छ, यो अवस्थामा माग अनुसार उत्पादन हुने अवस्था छैन,’ उनले भने, ‘मेल्टिड बेस स्टिल उद्योगलाई भट्टी चलाएर स्क्र्याम्प पगाल्न समय लाग्छ । यो चौबिसै घण्टा उत्पादन गर्नुपर्ने सिजन हो । लाइन आएका बेला पनि बारम्बार कटौती हुन्छ, जसले गर्दा कच्चापदार्थ जम्छ र फेरि पगाल्नुपर्छ ।’
उनका अनुसार उद्योगहरू पहिले ५० देखि ६० प्रतिशत क्षमतामा चलिरहेका थिए । अहिले ४० भन्दा पनि तल झरेको छ । ‘उद्योग चलाउन निकै गाह्रो छ,’ उनले भने ।्
सरकारले विद्युत् दिनुपर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘भारतबाटै विद्युत् ल्याउनुपर्छ, त्योभन्दा अर्काे विकल्प छैन,’ उनले भने, ‘ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको सम्बन्ध सुधारिनुपर्यो ।’
विद्युत् कटौती हुँदा सिमेन्ट, स्टिल, प्लास्टिक, धागो, साबुन, बिस्कुट, चाउचाउ लगायत उद्योगले उत्पादन ७० प्रतिशतसम्म घटाएको निजी क्षेत्रको दाबी छ ।
भारतले ३ चैतदेखि सोलार आवरमा मात्रै मात्र नेपाललाई विद्युत् दिएपछि १२ घण्टासम्म विद्युत् कटौती भइरहेको छ ।
अघोषित लोडसेडिङ| ऊर्जामन्त्री दीपक खड्का| कुलमान घिसिङ |१२ घण्टा लोडसेडिङ
प्रतिक्रिया दिनुहोस्