मधेस प्रदेशमा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको बढ्यै

घाइतेको सङ्ख्या पनि निरन्तर बढ्दो

 समाचार सारांश

  • मधेस प्रदेशका ८ जिल्लामा सवारी दुर्घटना र मानवीय क्षति बढ्दो छ।
  • गत आर्थिक वर्षमा ७,४४३ दुर्घटना हुँदा ५६४ जनाको मृत्यु भएको छ।
  • दुर्घटनाको मुख्य कारण तीव्र गति, लापरबाही र सीसी क्यामेरा मर्मत नहुनु हो।

frontline

बारा । मधेस प्रदेशका ८ जिल्लामा सवारी दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका अनुसार ३ वर्ष यता सवारी दुर्घटनाको सङ्ख्या लगातार बढ्दै गएको हो ।

मधेस प्रदेशका ८ जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ९८८ वटा सवारी दुर्घटनामा ५४६ जनाले ज्यान गुमाएका थिए । सो वर्ष सवारी दुर्घटनामा घाइते हुनेको सङ्ख्या ९ हजार ६७० थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ५८ वटा सवारी दुर्घटना हुँदा ५३० जनाले ज्यान गुमाए भने ९ हजार ७४५ जना घाइते भएका थिए ।

गत आर्थिक वर्ष (२०८१/०८२) मा ७ हजार ४४३ वटा सवारी दुर्घटना भएको थियो, जसमा ५६४ जनाले ज्यान गुमाए भने १२ हजार १२३ जना घाइते भएका थिए ।

सबैभन्दा धेरै दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल अग्रस्थानमा रहेको तथ्याङ्कले देखाएको छ ।

acc 3 years_page-0001

मधेस प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायब उपरीक्षक वकिल बहादुर सिंहले सवारी दुर्घटना बढ्नुको मुख्य कारण तीव्र गति, लापरबाही ढङ्गले सवारी चलाउनु र अस्वाभाविक ढङ्गले ओभरटेक गर्ने प्रवृत्ति रहेको बताए । मुख्य राजमार्गको तुलनामा साँघुरा भित्री सडकखण्डमा बढी सवारी दुर्घटना हुने गरेको उनको भनाइ छ ।

‘सहरी क्षेत्रको तुलनामा भित्री सडक खण्डमा दुर्घटनाको सङ्ख्या धेरै छ,’ डीएसपी सिंहले भने, ‘हामी दुर्घटना कम गर्न जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ, तर त्यो सोचेजति प्रभावकारी हुन सकेको छैन ।’

acc 3 years_page-0006

राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले गत वर्ष मधेस प्रदेशका ८ जिल्लामा २० हजार ५१९ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

‘हामीले दुर्घटना कम गर्न सवारी चालक, यात्रु, विद्यार्थी, समुदाय तहमा जनचेतनामूलक कार्यक्रम गरेका छौँ तर यो एक कानले सुन्ने, अर्को कानले उडाउनेमात्रै भयो,’ डीएसपी सिंहले भने, ‘यत्रो ठुलो सङ्ख्यामा कार्यक्रम गर्दा सकारात्मक नतिजा आउनुपर्ने हो तर चालकहरूले आफू बच्नका लागि होइन, ट्राफिक प्रहरीका लागि हेलमेट लगाइदिएको जस्तो व्यवहार गर्नुभयो ।’

प्रहरी नायव उपरीक्षक सिंहले खाल्टाखुल्टीका कारण पनि रातको समयमा धेरै सवारी दुर्घटना हुने गरेको बताए ।

मुख्य सडक खण्डमा भएका सीसी क्यामेरा मर्मत सम्भार नहुँदा पनि रातको समयमा हुने सवारी दुर्घटनामा अनुसन्धान गर्न धेरै समस्या हुने गरेको राजमार्ग ट्राफिक कार्यालयले जनाएको छ ।

acc 3 years_page-0007

सूचना अधिकारीसमेत रहेका सिंहले मधेसका ८ जिल्लाको मुख्य सडक खण्डमा रहेका ५८ वटा सीसी क्यामेरामध्ये ३३ वटा बिग्रिएको अवस्थामा रहेको बताए । प्रदेश सरकार र विभिन्न संघसंस्थाको सहयोगमा जडान गरिएका यी क्यामेरा वर्षौँदेखि मर्मत हुन सकेको छैन ।

मधेसका ८ जिल्लामध्ये बारामा १४, पर्सामा ३, रौतहटमा १२, धनुषामा १५, सप्तरीमा ७, सिराहामा ३ र महोत्तरी सडकखण्ड अन्तर्गत ४ वटा सीसी क्यामेरा राजमार्गमा जडान गरिएको छ । मुख्य राजमार्गमा जडान भएका सीसी क्यामेरामात्रै पूर्ण रूपमा सञ्चालन गर्न सके तीव्र गति नियन्त्रण र जरिबानाको माध्यमबाट दुर्घटना न्यूनीकरण गर्न सकिने राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको भनाइ छ ।

सवारी दुर्घटना कम गर्न ट्राफिक कार्यालयले गत वर्ष २ लाख ८ हजार सवारी साधनलाई कारबाही गरेर १८ करोड ३७ लाख राजस्व सङ्कलन गरेको छ । साथै आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ५९ हजार र २०७९/८० मा ३ लाख ५३ हजार सवारी साधनलाई कारबाही गरेको छ । जसबाट क्रमशः २३ करोड ३० लाख र २६ करोड ८६ लाख राजस्व सङ्कलन भएको थियो । 

#दुर्घटना #मधेस प्रदेश #सवारी दुर्घटना #ट्राफिक व्यवस्थापन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here