मधेसमा खडेरीको मार : पर्याप्त रोपाइँ भएन, जीडीपीमै असर पुग्ने

समाचार सारांश

  • यस वर्ष मनसुनको कमीले गर्दा रोपाइँ प्रभावित भएको छ, जसले गर्दा राष्ट्रिय खाद्य सुरक्षामा असर पर्ने देखिएको छ।
  • मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ र संघीय सरकारसँग राहतको लागि आग्रह गरिएको छ।
  • धान उत्पादन घट्ने र यसले समग्र जीडीपीमा असर पार्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।

काठमाडौँ । यो वर्षको असार आजदेखि सकियो, तर पर्याप्त वर्षा भएन । मुख्य समयमा वर्षाले साथ नदिँदा रोपाइँ प्रभावित भएको छ । 

frontline

देशभर कुल १३ लाख ८३ हजारमध्ये ८ लाख १६ हजार हेक्टरमा मात्र यो वर्ष रोपाइँ सकिएको कृषि विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै धान खेती हुने मधेस नै यो वर्ष खडेरीको मारमा परेको छ । 

चारैतिर पानी हाहाकार भएपछि मधेस सरकारले असार २६ गते प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र नै घोषणा गर्‍यो । र प्रदेशका किसानलाई लक्षित गरी विशेष राहत प्याकेज ल्याउन सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ । साथै, कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई सहयोगका लागि आह्वान गरेको छ । 

पर्साको वीरगञ्जसहित विभिन्न स्थानमा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले यसका लागि सङ्घीय सरकारसँग सहयोग माग्ने निर्णयसमेत गरेको छ । मधेसमा पानीको सङ्कट गहिरिँदै जाँदा यसको मुख्य असर खानेपानी र खेतीपातीमा परेको छ ।

चापाकलदेखि हरेक ठाउँमा पानी सुक्न थालेको छ । कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले मधेस सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेपछि आफूहरूले आठै जिल्लामा दुई वटा प्राविधिक टोली परिचालन गरेको बताए । उक्त टोलीले प्रतिवेदनपछि मात्रै अब के गर्ने भन्ने सवालमा निर्णय लिइने निर्देशनालयका प्रमुख यादवको तर्क छ । उनका अनुसार मधेसले हरेक वर्ष १३ लाख मेट्रिक टन धान उत्पादन गर्दै आइरहेको थियो, तैपनि १० लाख मेट्रिक टन अभाव भइरहन्थ्यो । तर रोपाइँले राष्ट्रिय खाद्य सुरक्षामै असर पार्ने सम्भावना बढेको उनको आकलन छ । 

  • देशभरि कति  रोपाइँ ? 

यो वर्ष सबैभन्दा कम रोपाइँ भएको मधेसमा कुल ३ लाख ७२ हजार ६८५ हेक्टर क्षेत्रफलमध्ये जम्मा १ लाख २५ हजार ८८८.६ मा मात्र रोपाइँ भएको छ । कोशीमा २ लाख ७६ हजार हेक्टरमध्ये १ लाख १४ हजारमा रोपाइँ भएको छ । 

यस्तै बागमतीमा १ लाख २०  हेक्टरमा धान खेती हुने गरेकोमा जम्मा रोपाइँ ९१ हजार हेक्टर भएको छ । गण्डकीमा ९४ हेक्टर धान रोपाइँ हुने क्षेत्रमध्ये ६३ हजार हेक्टरमा भएको छ । लुम्बिनीमा ३ लाख २ हजार हेक्टर रोपाइँ हुने क्षेत्रमध्ये २ लाख २३ हेक्टरमा रोपाइँ भएको छ । यस्तै कर्णालीमा ४० हजार हेक्टरमध्ये ३४ हजार हेक्टर रोपाइँ सकिएको छ । सुदूरपश्चिममा भने समयमै वर्षा हुँदा १ लाख ७६ हजार हेक्टरमध्ये १ लाख ६३ हजार हेक्टरमा रोपाइँ भएको छ ।  

  • मधेसमा एक तिहाइ मात्रै रोपाइँ  

कृषि विभागको तथ्यांकअनुसार धान उत्पादनका मुख्य क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा रोपाइँमा न्यून भएको छ । ‘अन्नको भण्डार’ मधेस प्रदेशमा रोपाइँको अवस्था सबैभन्दा चिन्ताजनक देखिएको छ । गत वर्ष ६१.५ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ३३.७८ प्रतिशतमा झरेको छ । यो गिरावटले राष्ट्रिय उत्पादनमा प्रत्यक्ष असर पार्ने भन्दै कृषि मन्त्रालय चिन्तित छ  ।  यस्तै  धान उत्पादनको अर्को मुख्य क्षेत्र कोशी प्रदेशमा पनि गत वर्षको ६१.७ प्रतिशतको तुलनामा यस वर्ष ४१.३२ प्रतिशत मात्र रोपाइँ भएको छ । 

सुदूरपश्चिम प्रदेशले गत वर्ष असार मसान्तसम्म ८६ प्रतिशत रोपाइँ गरेकोमा यस वर्ष ९३.१ प्रतिशत रोपाइँ सम्पन्न गरेको छ ।  सधैँझैँ रोपाइँमा अगाडि रहने कर्णाली प्रदेश यस वर्ष पनि ८३.२३ प्रतिशत रोपाइँसहित दोस्रो स्थानमा छ । यद्यपि, यो गत वर्षको ८६.२ प्रतिशतको तुलनामा थोरै कम हो । बागमती प्रदेशमा गत वर्षको ७०.६ प्रतिशतको तुलनामा यस वर्ष ७६.३१ प्रतिशत रोपाइँ गरी सुधार गरेको छ । 

लुम्बिनीमा पनि गत वर्षको ६६.७ प्रतिशतबाट बढेर यस वर्ष ७३.६८ प्रतिशत रोपाइँ भएको छ ।  यस्तै गण्डकी प्रदेशमा रोपाइँको दर लगभग स्थिर छ। गत वर्ष ६७.८ प्रतिशत रहेकोमा यस वर्ष ६६.९९ प्रतिशत रोपाइँ भएको छ ।

गत वर्षको तुलनामा यो वर्षको रोपाइँ प्रतिशत  (असार ३० सम्म)

k
  • कोशीमा किसानको ब्याड सुक्न थाल्यो 

मधेसमा मात्रै होइन, कोशी प्रदेशमा समेत पानी नपर्दा रोपाइँ कम भएको छ । सुनसरीमा  समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धानको बीउ ब्याडमै सुक्न थालेको छ । 

आकाशेपानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ । स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भने, ‘यो वर्ष पानी पर्ने आशा त थियो, तर चाहिएको वेला पानी परेन । हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्न थालेको छ ।’ 

उनका अनुसार विद्युत् आपूर्ति सबै क्षेत्रमा नपुगेकाले पम्प सेटमार्फत सिँचाइ गर्न सकिएको छैन । वराहक्षेत्र नगरपालिकाले श्रीलङ्का टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ ।

रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघाहमा रोपाइँ गर्दै आएकोमा अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताए । वर्षामा भर पर्ने उनीहरूजस्ता किसानलाई यही अवस्था रहिरहेमा धान बाली नै गुम्ने खतरा रहेको उनको भनाइ छ ।

कोशी गाउँपालिका–७ की किसान सरस्वती मियाँले जेठमै ब्याड तयार पारे पनि पानी नपरेपछि सुक्न थालेको बताइन् । धरान उपमहानगरपालिका–६ का किसान बुद्धिमान तामाङका अनुसार कुलोमा पानी नआएपछि रोपाइँ गर्न सकिएको छैन । ‘पोहोर साल यही समयसम्म रोपाइँ सकिएको थियो, तर यसपालि तीन भागमा एक भाग पनि रोपाइँ सकिएको छैन’, तामाङले भने ।

  • धान उत्पादन घट्दा, जीडीपीमै असर 

कृषि विभागका सूचना अधिकारी तिलकराज चौलागाईंका अनुसार हालसम्मको रोपाइँको तथ्यांक अत्यन्तै निराशाजनक छ, जसले यस वर्ष धान उत्पादन घट्ने निश्चितप्रायः देखाएको छ । ‘अहिलेको रोपाइँ प्रतिशत हेर्दा धान उत्पादन नै घट्ने देखिन्छ,’ चौलागाईंले  रातोपाटीसँग भने, ‘रोपाइँ नै कम भयो भने उत्पादन स्वतः घटिहाल्छ । ढिलो गरी भएको रोपाइँले पनि उत्पादकत्वमा ह्रास ल्याउँछ ।’

c

चौलागाईका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान करिब २४ प्रतिशत रहेको छ, जसमा धानको मात्रै हिस्सा ७ प्रतिशतभन्दा बढी छ । ‘मधेस प्रदेशलाई नेपालको धान खेतीको मेरुदण्ड नै मानिन्छ । यही क्षेत्रमा वर्षाको अभावले किसानहरूले समयमै रोपाइँ गर्न पाएका छैनन् । मधेसमै उत्पादन घट्दा यसले समग्र जीडीपीमै असर पुर्‍याउँछ,’ उनले भने । 

समयमै पानी नपर्दा किसानहरू आकाशेपानीको भरमा पर्खिरहेका छन् । सिँचाइ सुविधा भएका केही स्थानमा समेत पानीको स्रोत सुक्दै गएकाले रोपाइँ प्रभावित भएको छ । कृषि विज्ञहरूका अनुसार धान रोपाइँका लागि असार महिना सबैभन्दा उत्तम समय हो । असारको रोपाइँले बोट हुर्कन र बढ्न पर्याप्त समय दिन्छ, जसले गर्दा उत्पादकत्व उच्च हुन्छ ।

‘साउन महिनापछि हुने रोपाइँले धानको उत्पादकत्व असारमा रोप्ने धानको भन्दा कम हुन्छ,’ उनले स्पष्ट पारे, ‘ढिलो रोपाइँले धानको बाला लाग्ने र दाना भरिने समयमा मौसम अनुकूल नहुन सक्छ, जसले गर्दा उत्पादन घट्ने जोखिम बढ्छ ।’

कृषि अर्थ विज्ञसमेत रहेका चौलागाईले यसले दुईतर्फी सङ्कट सिर्जना गरेको बताउँछन् । ‘एकातिर कम रोपाइँका कारण कुल उत्पादन घट्नेछ भने, अर्कोतिर ढिलो रोपाइँका कारण प्रतिहेक्टर उत्पादकत्वमा पनि कमी आउनेछ । यसले देशको खाद्य सुरक्षामा समेत चुनौती थप्न सक्ने देखिन्छ । धान उत्पादनमा आउने कमीले चामलको आयात बढाउनुपर्ने अवस्था आउन सक्छ ।’  

#खडेरी #रोपाइँ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here