मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न चीनसँग प्रधानमन्त्रीको अनुरोध
हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् ।
आज चीनको पेकिङ विश्वविद्यालयमा आयोजित ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु ।’
उनले नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए । प्रधानमन्त्री ओलीले भने, नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को प्रशंसा गरेका थिए ।
प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए। सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबिच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए ।
प्रतिक्रिया दिनुहोस्