मतगणनामा खटिएका बारा ४ का कर्मचारीले सेवासुविधा नपाएपछि असन्तुष्ट

फाइल तस्बिर

२१ मंसिर, सिमरा । मतगणना सम्पन्न भएको लामो समय बितिसक्दा पनि सेवासुविधा नपाएपछि बारा क्षेत्र नम्बर ४ को मतगणनामा खटिएका कर्मचारी असन्तुष्ट देखिएका छन्। 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा खटिएका कर्मचारीले प्रोत्साहनवापत पाउने सेवासुविधा नपाएपछि उनीहरू असन्तुष्ट देखिएका हुन्। निर्वाचन आयोगले मतगणनामा खटिने कर्मचारीलाई प्रोत्साहनवापत रकम उपलब्ध गराउने गरेको छ। 

frontline

तर सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न गणनामा खटिएका जीतपुरसिमरा उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरणलगायत विभिन्न कार्यालयका अधिकांश कर्मचारीले हालसम्म सेवासुविधा पाएका छैनन्। 

सेवासुविधा पाएकामध्ये पनि तोकिएबमोजिम नपाएको भन्दै कर्मचारीले गुनासो गर्न थालेका छन्। 

निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीको लापरवाहीका कारण आफूहरूले सेवासुविधा नपाएको र सेवासुविधाका लागि ताकेता गर्दा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले गैरजिम्मेवारपूर्ण जवाफ दिन थालेको कर्मचारीको दुखेसो छ। 

निर्वाचन आयोगले तोकेबमोजिम सेवासुविधा दिनुपर्ने भएपनि अधिकृतको कार्यालयका कर्मचारी मतगणना सम्पन्न भइसकेको भन्दै पन्छिन खोजेको जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत अधिकृत सुदन चौधरीले बताए। 

‘गणनालाई छिटो र विवादरहित ढंगले सम्पन्न गर्न हामीले २४ घण्टा खटिएर काम गर्‍यो। सबै मिलेर विवादरहित ढंगबाट जिल्लामै मतगणना छिटो सम्पन्न गर्ने क्षेत्र पनि बन्यौ’ चौधरीले भने ‘तर अहिले सेवासुविधा दिने कुरामा निर्वाचन अधिकृतको कार्यालयले आनाकानी गरिरहेको छ। एकले अर्काको मुख देखाउन थालेको अवस्था छ। ’

मतगणनामा खटिएका कर्मचारीलाई सेवासुविधा उलपब्ध गराउन निर्वाचन अधिकृतको कार्यालयले चासो देखाउन छोडेको चौधरीको भनाइ छ। 

चौधरीजस्तै गणनामा खटिएका अधिकृत र अधिकृत सहायक स्तरका थुप्रै कर्मचारी सेवासुविधाबाट बञ्चित भएका छन्। सेवासुविधा पाएका कर्मचारीलाई समेत कुन आधारमा रकम उपलब्ध गराइएको भन्ने नखुलाइएको अर्का अधिकृत संघर्ष बिडारीले बताए। 

‘केही कर्मचारीलाई बैंक खातामार्फत रकम आएको छ। तर खटिएवापत प्राप्त गर्नुपर्ने रकम भन्दा निकै थोरै पठाइएको छ’ बिडारीले भने ‘गणनाको समयमा अहोरात्र खटिएर काम गर्ने कर्मचारीमाथी निर्वाचन अधिकृतको कार्यालयले अन्याय गरेको छ। आर्थिक पारदर्शितामा अधिकृतको कार्यालय चुकेको देखिन्छ। ’ बिडारीले तोकिएबमोजिम रकम उलपब्ध गराउन निर्वाचन अधिकृतको कार्यालयसंग माग गरेका छन्। 

जीतपुरसिमरा उपमहानगरपालिककै अधिकृत दुर्गा न्यौपानेले मतगणनमा खटिएवापत अहिलेसम्म सेवासुविधा प्राप्त गरेकी छैनन्। बुथ कलेक्सन र मतगणनामा खटिएकी न्यौपाने सेवासुविधा नपाएका कारण असन्तुष्ट देखिन्छिन्। 

‘कर्मचारी खटाएपछि को कर्मचारी कति खटिए भन्ने लेखाजोखा राख्ने, हाजिरी गराउनुपर्ने हुन्छ’ न्यौपानेले भनिन् ‘तर यहाँ त कर्मचारी खटिएको तथ्यांक पनि छैन। हाजिरी पनि गराइएको छैन। अहिले सेवासुविधा दिने बेलामा निर्वाचन अधिकृतको कार्यालय सम्पर्कमा आउन चाहदैन्।’

आफूहरू दैनिक १२ घण्टासम्म र मतगणना अवधीभरी ४० सिफ्टसम्म खटिएपनि रकम उपलब्ध गराउने समयमा थोरै रकम पठाएको कर्मचारीहरूको गुनासो छ। 

निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीको लापरवाहीका कारण आफूहरू पीडित हुनुपरेको उनीहरूको भनाई छ। 

यता निर्वाचन अधिकृत कर्ण राईले भने मतगणनाको समयमा एक सयभन्दा बढी कर्मचारी खटिएका कारण सेवासुविधा कम हुन गएको बताएका छन्। धेरै कर्मचारी खटाएका कारण सोही सेवासुविधाबाट उपलब्ध गराउनुपर्ने भएका कारण कम हुन गएको राईले बताए।

‘गणनाका लागि आयोगले करिब एक सय सिफ्ट तोकेको थियो। त्यही सिफ्ट अनुसार हामीले कर्मचारी व्यवस्थापन गरेर गणना गरेका हौं’ राईले भने ‘सुविधा सोचेको जस्तो नभएको हुन सक्छ। तर हालसम्म पनि नपाएको भन्ने गुनासोतर्फ हामी गम्भीर छौ।’

राईले हालसम्म सेवासुविधा नपाएका कर्मचारीले तत्काल निर्वाचन अधिकृतको कार्यालयमा खटिएका लेखापालसँग सम्पर्क राख्न आग्रह गरेका छन्। ‘केही कर्मचारीले मलाई पनि फोन गर्नुभएको थियो। मैले लेखापाललाई सम्पर्क राख्नुस् भनेको छु’ राईले भने ‘निर्वाचनमा खटिएर सेवासुविधा नपाउनुभएको कर्मचारी हुनुहुन्छ भने हामी सकेसम्म समेटेर लैजानेछौं।’

निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताको दिन खटेका कर्मचारीलाई सेवासुविधा र निर्वाचन सम्पन्न भएपछि मतपेटिएका लिएर गणनास्थल आएका सवारी साधनलाई भुक्तान गर्नुपर्ने रकम समेत नदिएको गुनासो आएको छ। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here