भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित

News Summary

Generated by OK AI. Editorially reviewed.

  • गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा एमाले र राजावादीहरुले प्रदर्शन गरे, सुरक्षा व्यवस्था कडा बनाइएको छ।
  • एमालेले सांस्कृतिक प्रदर्शनसहितको कार्यक्रम आयोजना गरेको छ भने राजावादीहरुले राजसंस्था पुनर्स्थापनाको माग गरेका छन्।
  • सवारी आवागमन प्रभावित नहोस भनेर ७८३ ट्राफिक प्रहरी परिचालन गरिएको र डाइभर्सन व्यवस्था मिलाइएको छ।

१५ जेठ, काठमाडौं । आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

frontline

एमालेले गणतन्त्र दिवसको दिन उत्सव मनाउन र राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन गर्दैछन् । नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।

एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप आएर सम्पन्न हुने छ ।

त्यसैगरी राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले दुवै पक्षको प्रदर्शनलाई लक्षित पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको बताए । ‘कुनै अप्रिय घटना नहोस् र निषेधित क्षेत्रमा प्रवेश नहोस् भनेर त्यसै अनुसारको सुरक्षा योजना बनाएर सुरक्षा जनशक्ति परिचालन गरिएको छ,’ उनले भने ।

गणतन्त्र पक्षधर र विरोधीहरुको प्रदर्शन स्थल र प्रदर्शन समय अलग अलग भए पनि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित हुने सम्भावना छ ।

त्यसैले सवारी आवागमनको प्रबन्ध मिलाउन तत्कालका लागि ७८३ जना ट्राफिक प्रहरीहरु खटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘तत्कालका लागि ७८३ जना परिचालन भइसकेका छन्, आवश्यकता अनुसार थप्न पनि सक्छौं ।’

उनका अनुसार कार्यक्रम स्थलतर्फ सवारी प्रवेश गर्न नदिई डाइभर्सन गर्ने व्यवस्था मिलाइएको छ ।

ट्राफिक प्रहरी |भृकुटीमण्डप |शान्तिवाटिका

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here