भारत–पाकिस्तान द्वन्द्व : आवश्यक सुरक्षा सतर्कता अपनाउन सांसदहरूको ध्यानाकर्षण

काठमाडौँ । छिमेकी मुलुक भारत र पाकिस्तानबिचको क्षेत्रीय तनावप्रति प्रतिनिधि सभा सदस्यहरूले चिन्ता प्रकट गरेका छन् । उनीहरूले क्षेत्रीय अशान्तिको प्रभाव नेपालमा पनि पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । त्यसक्रममा सांसदहरूले आयातमा पर्ने प्रभावदेखि दुवै देशका नेपालीहरूको सुरक्षामा सरकारले उचित ध्यान दिनसक्नुपर्ने बताए ।
कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलापछि भारत भारत र पाकिस्तानबिच ड्रोन र मिसाइल आक्रमण भइरहेका समाचार आइरहेका छन् ।




उक्त आक्रमणपछि भारतले ‘अपरेसन सिन्दूर’ घोषणा गरेको थियो । सोही अनुसार बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको थियो । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको थियो ।
पाकिस्तानले बिहीबार अपराह्न उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतले बताएको छ । पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतको भनाइ छ ।
शुक्रबारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शिशिर खनालले एक नेपाली नागरिकसहित २६ जनाको ज्यान लिनेगरी पहलगाम काश्मीरमा भएको आतंकवादी हमलाप्रति पार्टीका तर्फबाट कडा निन्दा गरे ।
उनले आतंकवादले कसैको पनि हित नगर्ने भन्दै पहलगाम आक्रमणपछि भारत पाकिस्तानबिच तनावको स्थिति देखिएकोमा चिन्ता व्यक्त गरे ।
‘आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको हैसियतले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वाभाविक चासो हुनुपर्छ’, खनालले परराष्ट्र मन्त्रालयले ढिलै भएपनि वक्तव्य निकालेर सार्वजनिक गरेको आतंकवादविरुद्धको अडानको स्वागत गरे । उनले भने, ‘भारत पाकिस्तानबिच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्नसक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्नसक्ने प्रभावको आकलन गरी योजना निर्माणको माग गर्दछु ।’
पाकिस्तानमा अध्यनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेको भन्दै उद्धार सुरक्षाको पहल गर्न माग समेत खनालले गरे ।
त्यस्तै सांसद शेरबहादुर कुँवरले भारत पाकिस्तान तनावले दक्षिण एसियामा अशान्तिको संकेत देखिएको भन्दै नेपाल कुनैपनि आतंकवाद र गतिविधिका विरुद्धमा रहेको बताए ।
‘भारत पाकिस्तान द्वन्द्वबाट आइपर्ने समस्याबाट हामीले सर्तकता अपनाउनुपर्छ’, उनले लाखौँ नेपाली भारतमा रहेको भन्दै उनीहरुको सुरक्षा र आयातमा पर्ने प्रभावबारे ध्यान दिनुपर्नेमा जोड दिए ।
सांसद सरस्वती सुब्बाले भारत पाकिस्तान तनावको असर दक्षिण एसियामा परेको भन्दै त्यसको असर तत्काल नेपालमा पनि पर्न सक्ने बताइन् ।
‘नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भोग्नुपर्ने सम्भावित चुनौतिहरु, भुराजनीतिक दवाव, कूटनीतिक असन्तुलन, खुला सिमाना,सुरक्षा जोखिमलाई ध्यान दिएर भारत र पाकिस्तानसँग संवाद गर्नुपर्छ’, उनले नेपालले संवेदनशील अवस्थामा सुरक्षा रणनीति तय गर्नुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्