भारत गणतन्त्र दिवस : राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्रीले पठाए बधाई तथा शुभकामना सन्देश
१२ माघ, काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ ।
नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेकी छन् ।
यसैगरी प्रधानमन्त्री देउवाले पनि समकक्षी नरेन्द्र मोदीको सुस्वास्थ्यको कामना गर्दै भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेका छन् ।
उनले सामाजिक आर्थिक विकासमा भारतले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।
उनले आगामी दिनमा नेपाल भारत सम्बन्ध थप मजबुत हुँदै जाने विश्वाससमेत व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय सममकक्षी डा. जयशंकर र भारतीय जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उनले दुई देशबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्