भारतमा कोरोनाको नयाँ लहर: सिमानामा सतर्कता अपनाउन चिकित्सकको सुझाव
खुला सीमा जोडिएको छिमेकी भारतका विभिन्न प्रान्तमा केही दिनदेखि फेरि कोरोना संक्रमण तिब्र रुपमा फैलिरहँदा वीरगन्ज र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक भएको चिकित्सकहरुले सुझाव दिएका छन् ।
भारतको महाराष्ट्र, पन्जाब, केरला, राजस्थान लगायत राज्यहरुमा केही दिनदेखि कोरोनाको संक्रमण फेरि तिब्र रुपमा फैलिरहेको छ ।
भारतमा केही सातायता फेरि दैनिक १५ देखि २० हजारको हराहारीमा कोरोना संक्रमित थपिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
त्यसैले भारतसँग खुला सीमा जोडिएका कारण वीरगन्ज सहितका नेपालका सीमावर्ती सहर र जिल्लाहरुमा सतर्कता अपनाउनु अत्यन्त जरुरी रहेको यहाँका चिकित्सकहरुको सुझाव छ ।
नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जले एक विज्ञप्ति जारी गरेर छिमेकी मुलक भारतमा कोरोना संक्रमण फेरि तिब्र रुपमा फैलिरहेकोले खुला सीमा भएकाले नेपालका सीमावर्ती सहर र जिल्लामा पुन संक्रमण भित्रिने जोखिम रहेको जनाएको छ ।
भारतमा संक्रमण बढिरहँदा खुला सीमा जोडिएको वीरगन्ज लगायत क्षेत्रमा सर्वसाधरणले स्वास्थ्य सतर्कतामा लापरवाही गरिरहेको देखिएको चिकित्सक संघले जनाएको छ ।
‘होली लगायत चाड पर्व नजिक आइरहेका छन् । स्वास्थ्य सतर्कता नअपाएको खण्डमा वीरगन्ज लगायत आसपासका क्षेत्रमा फेरि जेठ–साउनको जस्तै भयावह स्थिति फर्किने जोखीम छ,’ चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा छ ।
भयावहको अवस्था पूर्वानुमान गर्दै सर्वसाधरण साथै राज्यका निकायलाई सावधानी र सतकर्ता अपनाउन आग्रह गरिएको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जका सचिव डा उादनारायण सिंहले बताए ।
वीरगरगन्जकै नारायणी अस्पतालका चिकित्सक डा निरज सिंहले पनि छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले भारतका विभिन्न सहरमा फेरि लकडाउन गरिएको अवस्थामा भारतको कोलकता र मुम्बइबाट हालै वीरगन्जमा आएका तीन जनामा गम्भीर प्रकारको कोरोना संक्रमण भेटिएको उल्लेख छ ।
डा सिंहले नजिकिँदै गरेको होली पर्व मनाउन भारतबाट नेपालस्थित घर फर्कनेहरुको संख्यामा बृद्धी हुनसक्ने भएकोले नेपालमा सर्वसाधरण लगायत सबैले फेरि मास्क र सामाजिक भौतिक दूरीको नियमलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै सचेत गराएका छन् ।
कोरोनाको पहिलो लहर सुरु भएका बेला कोरोना महामारीको इपिसेन्टर नै बनेको वीरगन्जमा पहिलो पटक गत चैत ३० मा तीन जना भारतीय नागरिकमा संक्रमण भेटिएको थियो । उनीहरु भारतबाटै आएर वीरगन्जमा बसेको अवस्थामा शंका लागेर वीरगन्जको नारायणी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गत वर्षको चैत १० देखि वीरगन्ज सहितका नाकामा बन्द रहेको भारतीय निजी सवारीको आवागमन खुल्ला गर्न बिहीबार नै उच्चस्तरीय केन्द्रीय कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी) ले नेपाल सरकारलाई सिफारिस गरिसकेको छ ।
कोरोना संक्रमणलाई मध्यनजर गरी गत वर्षको चैत १० गतेदेखि बन्द गरिएको वीरगन्ज सहितका स्थल नाकाहरुमा मानिस र मालवाहक सवारी साधनको आवागमन सुचारु रहे पनि भारतीय निजी सवारी साधनलाई भने नेपाल भित्रन रोक नै लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्