भारतमा एक अर्ब ३० लाख युनिट विद्युत निर्यात

२५ असोज, काठमाडौं । भारतर्फको विद्युत निर्यात एक अर्ब युनिट नाघेको छ । मंगलबारसम्म भारतमा एक अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

frontline

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

“विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो,” उनले भने । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठ ९ बाट ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ ।

यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट  ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here