भारतको हवाई हमलापछि अहिलेसम्म के के भए ?

२४ वैशाख, काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् ।
केही पछिल्ला घटनाक्रमहरू –




– जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकी आक्रमणको दुई हप्ता पछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौवटा स्थानमा हवाई हमला गर्यो। यस सैन्य कारबाहीलाई भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ।
– पाकिस्तानका विदेशमन्त्री इसहाक डारले आठ पाकिस्तानी नागरिकको मृत्यु भएको र थप ३५ जना घाइते भएको पुष्टि गरेका छन्।
– भारतीय सेनाले कश्मीरमा पाकिस्तानबाट भएको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको बताएको छ।
– दुवै देशमा विभिन्न क्षेत्रका विद्यालय र कलेजहरू बन्द गरिएका छन्।
– भारतको सैन्य अपरेशनपछि एयर इन्डिया, स्पाइसजेट र इन्डिगोजस्ता प्रमुख एयरलाइन्सहरूले प्रभावित क्षेत्रका उडानहरू स्थगित गर्दै यात्रा सल्लाह जारी गरेका छन्।
– ताजा घटनाक्रमहरूमा गम्भीर चासो र अन्तर्राष्ट्रिय प्रतिक्रिया देखिएको छ।
– एएफपीका अनुसार पाकिस्तानको हैदरावादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।
– पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लामाबादले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रामकण र यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उत्पन्न गरेको खतरा’ बारे जानकारी गराएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पाकिस्तानसँग संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अन्तर्गतको आत्मरक्षा अधिकारअनुसार, आफूले रोजेको समय र स्थानमा यो आक्रमणको उचित जवाफ दिने पूर्ण अधिकार रहेको सूचित गरेको छ ।’
पाकिस्तानका विदेशमन्त्री इसहाक डारले एक्समा लेखेका छन्, ‘भारतको आक्रामण पाकिस्तानको सार्वभौमिकता, संयुक्त राष्ट्र चार्टर र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो, पाकिस्तान यसको कडा निन्दा गर्छ।’
– पाकिस्तानले भारत-नियन्त्रित कश्मीरसँगको सीमामा रहेको एक सैन्य पोस्टमा भारतीय सैनिकहरूले सेतो झन्डा (सामान्यतया आत्मसमर्पणको प्रतीक) उठाएका दाबी गरेका छन् ।
यो दाबी पाकिस्तान सरकारको आधिकारिक एक्स एकाउन्टमार्फत सार्वजनिक गरिएको अलजजिराले लेखेको छ । अलजजिराले यो दाबी स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको जनाएको छ ।
पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तारारले पनि आफ्नै एक्स एकाउन्टमा यो दाबी दोहोर्याउँदै लेखेका छन्, ‘पहिले अनुसन्धानबाट भागे, अब मैदानबाट।’
जम्मु कश्मीर |हमला भारत |भारत पाकिस्तान तनाव
प्रतिक्रिया दिनुहोस्