भारतको तेलङ्गानास्थित काठ गोदाममा आगलागी हुँदा ११ मजदुरको मृत्यु
१० चैत,काठमाडौं । भारतको तेलङ्गानास्थित एक काठ गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ ।
तेलङ्गानाको सेकुन्दराबादस्थित काठ गोदाममा बुधबार बिहान भीषण आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । मृत्यु हुने मजदुरहरू बिहारका रहेका पनि समाचारमा बताइएको छ ।
समाचार अनुसार गोदाममा काम गर्ने मजदुर सुतिरहेका बेला आगो लागेको थियो । गोदाममा बाहिर निस्कने एउटा मात्रै भर्याङ रहेका कारण दर्जन बढी मजदुरभित्रै फस्न पुगेका थिए ।
गोदाममा फसेका केही मजदुरले पहिलो तलाबाट हाम फालेर बाहिर निस्किए पनि बाँकी मजदूरले ज्यान गुमाउन पुगेको प्रहरीको भनाइ छ ।
अधिकारीहरूले बिजुली सट भएर काठ गोदाममा आगलागी भएको आशंका गरेका छ । हाल उक्त घटनाको छानबिन भइरहेको समाचारमा उल्लेख छ ।
तेलङ्गानाका मुख्यमन्त्री के चन्द्रशेखर राओले घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकलाई जनही पाँच लाख दिने बताएका छन् । उनले मृतकको शव घर पठाउने व्यवस्था गर्नसमेत निर्देशन दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्