भाडाका अपराधी प्रयोग गरेर मोरङ र ललितपुरमा ३ व्यावसायिक साझेदारको हत्या

२१ माघ, विराटनगर । भाडाका अपराधी प्रयोग गरेर मोरङ र ललितपुरमा ३ जना व्यावसायिक साझेदारको हत्या गर्न लगाएको खुलेको छ। भाडाका अपराधीलाई पैसा दिँदै व्यावसायिक साझेदारको हत्या गर्न लगाएको अभियोगमा सिरहाका ३१ वर्षीय अनिलकुमार मण्डल पक्राउ परिसकेका छन्। 

हत्यामा संलग्न अन्य २ जनालाई पनि मोरङ प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीले उनीहरुको नाम खुलाएको छैन। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले हत्यामा अरु व्यक्तिको पनि संलग्नता देखिएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको जानकारी दिए। 

frontline

‘हत्यामा संलग्न मण्डलसहित ३ जनालाई पक्राउ गरिसकिएको छ,’ उनले भने, ‘घटनामा अरु व्यक्ति पनि संलग्न छन्।’ हत्यामा कति जनाको संलग्नता थियो भन्ने बारेमा यकिन हुन बाँकी रहेको उनले बताए।  

मण्डलले प्रतिव्यक्ति ५ लाख रूपैयाँ दिने सर्तमा भारत र नेपालका पेसेवर अपराधी प्रयोग गर्दै व्यावसायिक साझेदारको हत्या गर्न लगाएको निस्कर्षमा प्रहरी पुगेको छ। ३ जनाको हत्या गरिसकेपछि हत्यामा संलग्न भाडाका अपराधीलाई उनले प्रतिव्यक्ति ३ लाख रूपैयाँ दिइसकेको खुलेको छ। २ लाख रूपैयाँ भने दिन बाँकी देखिएको प्रहरी स्रोतले बतायो। 

मोरङको धनपालथान गाउँपालिका–७ उखुबारी र ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा हत्या गरेर गाडेको अवस्थामा ३ जनाको शव भेटिएको थियो। हत्यामा भाडाका पेसेवर अपराधी प्रयोग गरिएको पाइएपछि घटनाले नयाँ मोड लिएको छ। मोरङमा २ र ललितपुरमा १ जनाको हत्या गरेर गाडेको अवस्थामा प्रहरीले शव उत्खनन गरिसकेको छ। 

सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरीको शव मोरङको धनपालथान–७ उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो। उनीहरुको शव गत माघ १३ र १४ गते फेला परेको हो। 

उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि पुगेको प्रहरीले पहिले एउटा खाल्डोबाट चौधरीको शव निकालेको थियो। शव भेटिएको स्थानबाट करिब ३० मिटरको दूरीमा रहेको अर्काे खाल्डोमा श्रेष्ठको शव फेला परेको हो।

छुट्टाछुट्टै खाल्डोमा शव गाडिएको भए पनि दुवैको घाँटीमा डोरीको डाम थियो। बिजुलीको पोल गाड्नेजस्तो खाल्डो बनाउँदै नुन हालेर गाडिएको अवस्थामा शव भेटिएको हो। उक्त घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले तेह्रथुमको सङ्क्रान्तिका ६२ वर्षीय मोहन लिम्बूको पनि हत्या गरेर गाडेको अवस्थामा ललितपुरको गोदावरीमा शव फेला पार्‍यो। 
प्रहरीले बिहीबार साँझ लिम्बूको शव उत्खनन गरेको छ। 

डोरीले घाँटी कसेर हत्या गरिएको भनिएका ३ जना व्यावसायिक साझेदार भएको खुलेको छ। सिरहाका मण्डलसँग मिलेर उनीहरुले जग्गा, हाइड्रो पावर, सिमेन्ट उद्योग लगायतमा लगानी गरेको खुलेको छ। ४ जना व्यवसायिक साझेदारमध्ये मण्डलले भारतीय र नेपाली अपराधीलाई भाडामा प्रयोग गरेर ३ जनाको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उच्च प्रहरी स्रोतले बतायो। 

घटनाका बारेमा केही पनि बताउन नचाहेका मण्डल केही दिनअघि नै काठमाडौंबाट पक्राउ परेका हुन्। उनलाई बिहीबार विराटनगर ल्याइएको छ। यता मोरङ प्रहरीले सुनसरीको भन्टाबारी र बर्जुबाट सात जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको थियो। प्रहरीले धरान, काठमाडौं, झापा, विराटनगर लगायतका स्थानबाट पनि केही व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गर्‍यो। 

नियन्त्रणमा लिइएकामध्ये २ जनाले घटनामा संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। घटनाका बारेमा काठमाडौंमा केही बोल्न नचाहेका मण्डलले पनि विराटनगर ल्याइसकेपछि हत्या आफ्नो योजना र लगानीमा भएको स्वीकार गरिसकेको प्रहरी स्रोतले बतायो। 

‘प्रारम्भिक अनुसन्धानबाट भाडाका भारतीय र नेपाली अपराधी प्रयोग गरेर हत्या गरेको देखिन्छ,’ जिसीले भने, ‘घटना गराउने ३ जना पक्राउ परिसकेका छन्। अरु व्यक्तिहरुको खोजी जारी छ।’ मोरङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै छ। 

हत्या गरिएकामध्ये राजेन्द्रको साथबाट भेटिएको परिचय खुल्ने कागजातका आधारमा उनको पहिचान सम्भव भएको हो। त्यसपछि उनको कनेक्सन खोतल्दै जाँदा अन्ततः प्रहरी घटनाको निस्कर्षमा पुग्न सफल भएको छ। हत्यामा संलग्नमध्ये केहीलाई पक्राउ गर्न प्रहरी सफल पनि भइसकेको छ। 

लिम्बूको हत्या मंसिर २८ गतेअघि नै भएको प्रहरीले जनाएको छ। श्रेष्ठ र चौधरीको हत्या कहिले भएको हो भन्ने यकिन हुन बाँकी छ। तर हत्या मोरङमै गरेर दुवै जनाको शव गाडेको निस्कर्षमा प्रहरी पुगेको छ। उनीहरु दुवै जना एकै समयमा सम्पर्कविहीन बनेका थिए। 

हत्या गर्नुअघि उनीहरुलाई विराटनगरको रत्ना होटल र मेट्रोसिटी गेस्ट हाउसमा राखेको पाइएको प्रहरी स्रोतले बतायो। गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै काठमाडौंबाट पूर्वतर्फ आएका श्रेष्ठसँग चौधरी पनि थिए। कल डिटेल रेकर्ड (सीडीआर) ले पनि त्यही संकेत गरिरहेको प्रहरीले जनाएको छ। उनीहरुको कनेक्सनका आधारमा लिम्बूको शव फेला पारेको प्रहरीको अनुसन्धान लगभग घटनाको अन्तिम निस्कर्षतिर पुगिसकेको छ। 

लिम्बूको शव उत्खननका लागि मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङ काठमाडौंसम्म पुगेका थिए। उनले शव बरामद गर्न अपराध महाशाखाको सहयोग लिए। त्यसपछि प्रहरी टोलीले ललितपुरको गोदावरीमा गाडेको अवस्थामा लिम्बूको शव बरामद गरेको हो। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा ८ जना भारतीय नागरिकलाई प्रयोग गरेको देखिन्छ। व्यावसायिक साझेदार मण्डलले श्रेष्ठ, चौधरी र लिम्बूको हत्यामा भाडाका अपराधी प्रयोग गर्दै घटना गराएको प्रहरीले जनाएको छ। ‘५ लाख दिने सर्तमा ३ जनाको हत्या गर्न मण्डलले लगाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘हत्यामा संलग्नले प्रतिव्यक्ति ३ लाख रूपैयाँ लिइसकेको भए पनि २ लाख रूपैयाँ लिन बाँकी रहेको देखिन्छ।’ 

लिम्बूको हत्यापछि मण्डल मंसिर अन्तिम साता विराटनगर आएको पाइएको प्रहरीले जनाएको छ। मण्डलसँग श्रेष्ठ र चौधरी पनि विराटनगर आएको पाइएको छ। प्रहरी स्रोतका अनुसार ललितपुरमा लिम्बूको हत्या भइसके पनि श्रेष्ठ र चौधरीलाई भने घटनाका बारेमा थाहै थिएन। 

श्रेष्ठ र चौधरीले व्यावसायिक साझेदार लिम्बूको खोजी गर्न थालेपछि मोरङमा उनीहरुको हत्या गरिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार श्रेष्ठको साथमा परिचय खुल्ने कागजात फेला नपरेको भए घटनाको निस्कर्षमा पुग्न गाह्रो थियो। नुन हालेर गाडिएकाले धेरै गलेको र सडेको कारण अनुहार चिन्न नसक्ने अवस्थामा शव भेटिएको थियो। 

शारीरिक बनावट र शरीरमा लगाएका कपडाका आधारमा आफन्त तथा परिवारका सदस्यले श्रेष्ठ र चौधरीको सनाखत गरेका हुन्। व्यवसायबाट राम्रो कमाई हुन थालेपछि उक्त पैसाको लोभमा परेर मण्डलले ३ जना व्यावसायिक साझेदारको हत्या गर्न लगाएको पाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here