भक्तपुरमा अचेत फेला परेका दुईको मृत्यु
७ फागुन, भक्तपुर । भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा उदयपुर घर भई मध्यपुर ठिमी नगरपालिका-२ बस्ने ४० वर्षीय गणेश मगर, उदयपुर कटारी-९ का ३५ वर्षीय सुरज तामाङ छन्।
नाम थर नखुलेका अर्का एक व्यक्तिको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मगर ट्वाइलेटमा शुक्रबार बिहान राति सवा २ बजे अचेत अवस्थामा फेला परेका थिए।
श्रीमती र स्थानीयले मगरलाई कोरियन अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको परिसरले जनाएको छ। महानगरीय प्रहरी वृत्त ठिमीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
परिसर प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बिहान साढे ५ बजे उदयपुर कटारी-९ का ३५ वर्षीय सुरज तामाङ मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि अचेत अवस्थामा फेला परेका थिए।
घोप्टो परेको अवस्थामा अचेत फेला परेका उनलाई कोरियन अस्पताल लगिएकोमा पौने ७ बजे मृत्यु भएको श्रेष्ठले बताए। ठिमी वृत्तको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
शनिबार नै बिहान सवा ७ बजे सूर्यविनायक नगरपालिका-९ नङखेलस्थित भाराली खोलामा एक पुरूषको शव फेला परेको छ।
करिब ४४/४५ वर्षको देखिने गोरो वर्ण र उचाइ ५ फिट भएका ती पुरूषको नाम थर खुलेको छैन। महानगरीय प्रहरी वृत्त जगातीको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्