बोसिया खेल सम्पन्न -भूमिकला पौडेल
“सबैका लागि खेलकुद” भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघको आयोजनामा “उपत्यकाव्यापी बोसिया खेलकुद प्रशिक्षण तथा प्रतियोगिता” राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रको हल, लैनचौरमा सम्पन्न भएको छ । मष्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी तथा स्नायुसम्बन्धी समस्या भएका अपाङ्गता भएका व्यक्तिहरूका लागि सो खेलकुद प्रशिक्षण तथा प्रतियोगिताको आयोजना गरिएको हो । दुई दिने सो कार्यक्रमको पहिलो दिन ३० जना खेलाडीहरू बीच प्रतिष्पर्धा गराईएको थियो भने दोस्रो दिन ३० जना नयाँ खेलाडीहरूलाई नेपाल बोसिया संघका प्रशिक्षक बाबुकृष्ण रञ्जितले प्रशिक्षण दिनुभएको थियो । प्रतिष्पर्धामा बोसिया सम्बन्धी ४ प्रकारका खेलहरू समावेश गरी जम्मा १२ समुह बिच प्रतिष्पर्धा गराईएको थियो । प्रतियोगितामा २४ जना खेलाडीहरूले प्रथम तथा द्धितिय स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम तथा द्धितिय स्थान प्राप्त गर्ने विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथीको रूपमा रहनु भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला लगायत विशेष अतिथीहरूले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रमको समापन समारोहमा जाइका नेपालका प्रतिनिधीहरू पनि विशेष अतिथीको रूपमा रहनु भएको थियो । त्यसैगरी विशेष अतिथीको रूपमा रहनु भएका नेपाल पारा ओलम्पिक कमिटिका अध्यक्ष दिपक कोइरालाले अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुदमा छुट्टयाइएको बजेट कटौती गरिएकोमा आपत्ति जनाउँनु हुँदै सबैका लागि खेलकुद भनिन्छ भने खेलकुद सबैका लागि नै हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै नेपाल बोसिया संघका अध्यक्ष गोमादेवी पौडेलले बोसिया खेलको विकासका लागि सरकारको विशेष ध्यानाकर्षण हुनुपर्ने जोडदिनुहुँदै सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउँनु भयो । सो प्रतियोगितामा काठमाडौं महानगरपालिकाको सहयोग प्राप्त भएको थियो । समापन समारोहमा संघका महासचिव रबिन्द्र रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो भने संघका सदस्य देवकुमारी पराजुलीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । यसपालिको बोसिया खेलमा पुरुष खेलाडीहरूको तुलनामा महिला खेलाडीहरूको सहभागिता बाक्लिएको देखियो जुन एकदमै उत्साहजनक कुरा हो ।
प्रतिक्रिया दिनुहोस्