बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतविक्षत

१६ भदौ, बेंसीसहर । मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतविक्षत बनाएको छ। 

लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडक अन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। 

frontline

लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताए।

वर्षाका कारण विभिन्न स्थानमा सडक बगाउनुका साथै पहिरोले सडक पुरेको छ। पहिरोले सडकसँगै स्थानीयको खेतीयोग्य जमिन पनि बगाएको छ। सोही सडक अन्तर्गत मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानी सिम्ले नजिकै करिब एकसय मिटर लम्बाइ सडक भासिएको छ। 

सो सडक भासिएर पहिरो गएमा खुदीबजार वारपार गर्ने झोलुङ्गे पुलमा समेत क्षति पुग्नेछ। सडक भासिएपछि सवारीसाधन चल्न सकेका छैनन् भने स्थानीय जोखिम मोलेर हिँडडुल गरिरहेका छन्। 

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मौसमका कारण सडक खुलाउन समस्या भएको बताए। भौगोलिक अवस्थाको अवलोकन गरी सडक डिभिजन कार्यालयलाई सडक खुलाउन अनुरोध गरिएको उनले बताए।

डुम्रे बेसीसहर चामे सडक परियोजनाका प्रमुख अच्युतविलास पन्तले अवरुद्ध सडक खुलाउन पटक पटक प्रयास गरिएपनि सफल हुन नसकेको बताए। लगातार पानी परिरहेको र पहिरो जान नरोकिएकाले सडक खुलाउन कठिन भएको उनले बताए।

मुख्य सडक अवरुद्ध भएपछि ठुला सवारी चल्न सकेका छैनन भने साना सवारी साधन बेसीसहरदेखि बाझाखेत, लेते, सिमलचौर हुँदै भुलभुले निस्कने वैकल्पिक बाटो हिँडेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here