बुटवल उपमहानगरमा मुलुककै पहिलो नमुना ढुवानीग्राम बन्दै

बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानीग्राम धमाधम निर्माण भइरहेको छ । बुटवल उपमहानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रूपमा हेभी लोडका सवारी साधनलाई व्यवस्थित गर्न ढुवानीग्राम बनाएको हो । 

मुलुकको आर्थिक केन्द्रका रूपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानीग्राम निर्माण गरिएको र निर्माण लगभग अन्तिम चरणमा पुगेको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए ।

frontline

बुटवल उपमहानगर स्वामित्वको वडा नम्बर १२ ढवाहस्थित भैरहवा टोलमा ३ बिघा क्षेत्रफलमा करिब ३० करोड रुपैयाँ लागतमा ढुवानीग्राम निर्माण भइरहेको छ ।

सार्वजनिक/निजी क्षेत्रको साझेदारी योजनाअनुसार रूपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारिएको थियो ।

‘सहरमा ट्राफिक चाप बढाउने र अव्यवस्थित तवरले सञ्चालनमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने, एकै ठाउँबाट हेभी लोडका गाडी अनलोड गराउने गरी अलग्गै ढुवानीग्राम निर्माणको अवधारणा बनाएका हौँ,’ प्रमुख सुवेदीले भने, ‘निजी क्षेत्र (यहाँका ढुवानीग्राममा संलग्न व्यवसायी) को समेत साझेदारीमा सुरु भएको योजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।’

बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको अवधारणा अहिले साकार हुने अवस्थामा पुगेपछि उपमहानगर र ढुवानी व्यवसायी खुसी छन् । प्रमुख सुवेदीले व्यस्त र भीडभाडयुक्त बजार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले उपमहानगरले गरेको प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्य गर्ने प्रतिबद्धता जनाएकाले काम तोकिएको समयमै पूरा भएको जानकारी दिए ।

नयाँ वर्षको सुरुमै सञ्चालन गर्ने गरी तयारी भए पनि कोरोना महामारीको जोखिमले केही पर सरेको छ । हेभी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अब व्यस्त सहरको ट्राफिक चाप कम हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here