बीआरआईमा भएका सम्झौता कार्यान्वयनमा ढिलाइ गर्नु हुन्न : कांग्रेस

२८ असार, काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले चिनियाँ बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा नेपालसँग भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियान्चाओसँगको भेटमा कांग्रेस पदाधिकारीले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गरेका थिए।

frontline

भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दै बीआरआई परियोजना कार्यान्वयनमा जोड दिइएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए।  

बीआरआईबाट नेपालले लाभ लिनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको जानकारी गराउँदै चिनियाँ प्रतिनिधिमण्डललाई नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु नहुनेमा जोड दिएको थापाले बताए।

नेपालमा विद्यमान विकासको आवश्यकता, उत्कट चाहना र त्यसका लागि आवश्यक स्रोतको अभाव र अन्तरलाई परिपूर्ति गर्न सबै छिमेकी तथा मित्र राष्ट्रहरूबाट नेपालको राष्ट्रिय हित अनुकूल सहयोग र सहायता लिनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराइएको थियो।

‘राष्ट्रिय हितमा हुनेगरी सबै मित्र राष्ट्रहरूबाट विकास सहायता लिन्छौं। नेपालको विद्यमान आर्थिक अवस्था र विकासको जुन चरणमा नेपाल आज उभिएको छ त्यस चरणबाट अघि बढ्न सबै मित्र राष्ट्रहरूबाट प्राप्त हुने स्रोतको व्यवस्थापन आवश्यक रहेको छ,’ कांग्रेस पदाधिकारीले चिनियाँ प्रतिनिधिमण्डललाई भनेका थिए।

कांग्रेसले आफ्नो पार्टी एक चीन नीतिमा प्रतिबद्ध रहेको पनि जानकारी गराएको थियो। नेपाली भूभाग छिमेकी तथा मित्र राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने कुरामा प्रस्ट, संवेदनशील र सचेत रहेको थापाले बताए।

शक्ति राष्ट्रहरूबीच हुने कुनै पनि रणनीतिक, सामरिक, सैन्य गठबन्धन वा अन्य प्रकारका प्रतिस्पर्धामा नेपाल सहभागी हुँदैन र हुनुहुँदैन भन्नेमा आफूहरु स्पष्ट रहेको कांग्रेसले जानकारी गराएको थियो।

‘कांग्रेस चीनलगायत अन्य छिमेकी, शक्ति राष्ट्र तथा मित्र राष्ट्रहरूसँग सम्मानपूर्ण, मित्रवत् तथा सुमधुर सम्बन्ध राख्छ, राख्न चाहन्छ। साथै, शक्ति राष्ट्रहरूबीच समान, सम्मानपूर्ण र सुमधुर सम्बन्ध होस् भन्ने अपेक्षा पनि गर्दछ,’ चिनियाँ प्रतिनिधिमण्डलाई भनिएको थियो।

भेटमा नेपाल र चीनबीचको विशिष्ट सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको थापाको भनाइ छ। उनकाअनुसार नेपाली कांग्रेस, नेपाल-चीनबिचको चीरकालदेखि रहेको विशिष्ट सम्बन्ध र नेपाल-चीन सम्बन्धलाई विशिष्ट बनाउन पार्टीका संस्थापक नेता बिपी कोइरालाले पुर्‍याएको योगदानको भेटमा स्मरण गरिएको थियो।

चीनप्रतिको कांग्रेसको धारणा र दृष्टिकोण चुनावी परिणाम वा सरकारमा नेपाली कांग्रेसको उपस्थितिको बनोटबाट निर्देशित नहुने पनि प्रस्ट पारिएको थियो।

‘नेपाल र चीनको न्यानो र ऐतिहासिक सम्बन्ध छ। नेपाली कांग्रेस चीनलाई नेपालको महत्त्वपूर्ण मित्रराष्ट्रको रूपमा लिँदै आएको छ र भविष्यमा पनि लिनेछ,’ भेटपछि कांग्रेसले भनेको छ, ‘साथै निकट्तम् छिमेकी समेत भएकाले चीन नेपालको विकास प्रक्रियाको महत्त्वपूर्ण साझेदार हो भन्ने बुझाई नेपाली कांग्रेसको हो।’ 

कांग्रेसले चीनको नेपाल र नेपालका दलहरूसँगको सम्बन्ध र व्यवहार कुनै विशिष्ट विचार केन्द्रितभन्दा पनि सधैँ समान रहने विश्वास पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here