बिहीबार देखि धरहरा खुला,पहिलो दिन १२ सय जनाले चढे
सर्वसाधारणका लागि खुला गरिएपछि आज (बिहीबार) पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ।
निसुल्क व्यवस्था गरिएको समाचार संचारमाध्यममा सार्वजनिक भएपछि धरहरा चढ्नेहरुको भीड लागेको हो। पहिलो दिन १२ सय जनाले धरहराबाट काठमाडौको अवलोकन गरे ।
सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए।
“अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो। तर पहिलो दिन नै एक हजार दुई सय जनाले धरहरा चढेको आधिकारिक रेकर्ड छ”, उनले भने।
उनका अनुसार कतिपय मानिसहरु विना टिकट नै धरहरा चढेका थिए। उनले भने, “आज अत्यधिक भिड भयो। भोलि शुक्रबारदेखि व्यवस्थित रुपमा छ सय जनाका लागि मात्रै चढ्न दिन्छौं।”
सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो। विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो।
विसं २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु भएको थियो। विसं २०७८ वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको समुद्घाटन भएको थियो।
धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ।
विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो।
विसं १९१३ मा धरहरा चट्याङ परी भत्किएको थियो भने विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो। विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो।
विसं १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तलाबाट नौ तलामा सीमित भएको थियो।
त्यसैगरी, विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो। यसैगरी विसं २०७२ फागुन ४ गते प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान सुरु गरेका थिए।
प्रतिक्रिया दिनुहोस्