बिरामीलाई अन्यत्र लैजान खोज्ने चार जना पक्राउ

२ पुस, मोरङ । उपचारका लागि विभिन्न स्थानबाट विराटनगरस्थित कोशी अस्पताल पुग्ने बिरामीलाई अन्यत्र लैजान खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अस्पताल अगाडिबाट चार जना बिचौलियालाई पक्राउ गर्दै कारबाहीको दायरामा ल्याएको हो।




जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठका अनुसार बिहीबार अस्पतालमा उपचारका लागि पुगेका बिरामीलाई उनीहरुले निजी अस्पतालदेखि क्लिनिकतर्फ लैजान बाध्य गरेका थिए।
यसक्रममा प्रहरीले विराटनगर–५ का ६० वर्षीय राम सुनुवार र ४५ वर्षीय दिलिप साह, महानगरपालिका–१८ का ४६ वर्षीय विनोद राय, विराटनगर–१२ का ३९ वर्षीय शिवकुमार कामतलाई नियन्त्रणमा लिएको हो।
प्रदेश प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्लामा बुझाएको बताएका प्रवक्ता श्रेष्ठले पक्राउ परेका चारैजनाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरिरहेको बताए।
सरकारी अस्पताल क्षेत्रमा बिचौलियाको भूमिकामा रहेर उनीहरुले टाढाबाट उपचारका लागि पुगेका बिरामीलाई झुक्याएर अन्यत्र लैजाने गरेको श्रेष्ठले जानकारी दिए।
यसक्रममा निजी अस्पतालदेखि क्लिनिकसम्मले उनीहरुलाई निश्चित कमिसन उपलब्ध गराउँदै आएको खुलेको छ।
प्रहरीले स्वास्थ्य क्षेत्रका बिचौलियालाई पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन विशेष अभियान चलाउँदै आएको छ।
मोरङ प्रहरीले सरकारी अस्पतालबाट आफ्नो सम्पर्कमा रहेका निजी स्वास्थ्य संस्थामा पुर्याउने १७ जना बिचौलियालाई विराटनगरबाट पक्राउ गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्