बालेनलाई सांसद सिंहको चुनौती– हिटलर बन्दैछौ, सक्छौ भने सिंहदरबार भत्काएर देखाऊ

प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई हिटलरको संज्ञा दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर शाहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको बताए ।




‘काठमाडौं महानगरका मेयरले हिटलरको शैलीमा दिनदहाडै कवाड व्यवसायीमाथि डोजर चलाएर गरिब मजदुरलाई घाइते बनाएका छन् । जर्मनीमा लोकतान्त्रिक प्रक्रियाबाटै नाजीवादको उदय भएजस्तै मेयर शाह तानाशाह बनेर निस्किएका छन् । बालेनको गतिविधिले जर्मनीको हिटलर, इटलीको मुसोलिनीको याद आएको छ,’ उनले भने ।
लोकतन्त्रले जनताको अधिकार र सुरक्षाको ग्यारेन्टी गरेको हुन्छ भन्दै सांसद सिंहले त्यसैका लागि राज्यको परिकल्पना गर्ने गरिएको बताए ।
संघीय सरकारलाई के यो न्याय मरेको देश हो, कानुन मरेको देश हो भन्ने प्रश्न गर्दै सांसद सिंहले भने, ‘संघीय सरकारलाई आग्रह गर्न चाहन्छु, यो देश बहुभाषिक, बहुधार्मिक हो र हरेक तप्काका नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा जाने, बस्ने र बोल्ने अधिकार संविधानले दिएको छ । अहिले यो अधिकार मिचिएको छ ।’
काठमाडौं सबै नेपालीको राजधानी भएको भन्दै उनले सांसद सिंहले संसद् भवन, सिंहदरबार, रामशाहपथको सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास बालुवाटर र राष्ट्रपति कार्यालय शीतलनिवास भत्काएर देखाउन चुनौती दिए ।
प्रतिक्रिया दिनुहोस्