बालेनलाई समेत समेट्ने चाहना व्यक्त गर्दै भीम रावलले भने- मलाई राजावादी भन्न मिल्दैन

नेकपा एमालेबाट बहिर्गमनमा परेपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् । उनले यो अभियानमा काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा समेत सार्वजनिक गरे ।

शुक्रबार बिहान नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग हवाईजहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी विमानस्थलमा ओर्लिएका रावलले पत्रकारहरुको भेटमा सो धारणा सार्वजनिक गरेका हुन् ।

frontline

पूर्वगृहमन्त्री समेत रहेका रावललाई पत्रकारहरुले बालेनसँग पनि छलफल गरेको चर्चाबारे सोधेका थिए । सो जिज्ञासामा रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ ।’

रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अदालतमा भएको कुरामा टिप्पणी नगर्ने बताए ।

रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाए थिए । त्यही क्रममा एमाले नेता रावलल विशिष्ट कक्षबाट सुटुक्क बाहिरिएका थिए । रावल भने पत्रकार भेटघाटपछि गृहजिल्ला अछामको रामारोशनतर्फ प्रस्थान गरे ।

पत्रकारहरुले रावललाई राजावादीहरुसँगको भेटघाटबारे जिज्ञासा राखेका थिए । उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै त्यही क्रममा विभिन्न व्यक्तिहरुसँग भेटेको र त्यो स्वाभाविक भएको बताए । पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएको उनले जानकारी गराए ।

उनी हालै विराटनगर गएका बेला राजावादीहरुले स्वागत गरेका थिए । त्यतिबेला इटहरीमा राजावादीहरुसँगको भेटमा उनले दोस्रो जनआन्दोलनको उद्देश्य राजा फालेर गणतन्त्र ल्याउने नभए पनि घुसपैठ भएको जिकिर गरेका थिए । राजावादीलाई भेट्दैमा आफूलाई पनि राजावादी भन्न नमिल्ने रावलले बताए ।

रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे । ‘देश र जनताका लागि जोजो छन्, इमान्दार देशभक्तहरु हामी एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ,’ उनले भने ।

प्रधानमन्त्रीसहित राजनीतिक नियुक्तिमा भागबण्डा गरेर खाने गरेको भन्दै उनले त्यसलाई रोक्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताए । ‘प्रधानमन्त्री बन्यो भागबण्डा गरेर खाने, विश्वविद्यालयमा भागबण्डा गरेर खाने । अँस्तीभर्खर भूमिसम्बन्धी आयोग गठन भयो हेर्नुस् त भागबण्डा,’ रावलले भने, ‘भागबण्डाभित्र पनि गुटबन्दी छ फेरि । अनि के यो राज्य भनेको व्यक्तिगत हो कसैको ? त्यसकारण यस्तो कुरालाई रोक्नुपर्छ ।’

एमालेबाट निस्कासनमा परेपछि १७ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए ।

उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’को नामबाट देशदौडाहामा ‍छन् । यो अभियानले राष्ट्रिय रुप लिएपछि पार्टीको स्वरुप दिने उनले बताए ।

पार्टीको संगठनात्मक स्वरुपबारे सोधिएको प्रश्नमा रावलले भने, ‘देशको अहिलेको अवस्था परिवर्तनका लागि अरु धेरै मानिसहरुले हातेमालो गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यतिबेला त्यसलाई अझ परिमार्जित गरेर जे जस्तो आवश्यक हुन्छ, त्यो रुपमा ल्याउन तयार छौं ।’ अहिले नै पार्टी घोषणाको चरणमा नपुगेको उनले बताए ।

आफूले सुरु गरेको अभियानले कालान्तरमा ठूलो रुप लिने विश्वास व्यक्त गर्दै रावलले भने, ‘हिमालमा हिउँको डल्लो गुडिरहेको बेला सानो देखिन्छ । पछि त्यसले हिम आँधीको रुप लिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here