बालिकाको हत्यापछि गाउँमा त्रास

१४ पुस, वीरेन्द्रगनर । कात्तिक २० गते भाइटीकाको दिन लेकबेंसी–१ ढापखर्कका गगनबहादुर सुनार दिदीको घरमा श्रीमतीसँगै टीका थाप्न गएका थिए ।

आफूसँगै कान्छी छोरी मनीषालाई पनि लैजाने प्रयत्न गरे तर मनीषाले घरमै बस्ने जिद्दी गरिन् । ‘भाइटीकामा सबै दिदीबहिनी घरमै भएकाले जान मानिनँ,’ बुबा गगनले भने, ‘तिहारका बेला दिदीहरूसँगै बस्ली भनेर हामीले छाडेर गयौं ।’

frontline

गगनका ५ छोरीमध्ये कान्छी छोरी हुन् । उनी पुस ११ गते ८ वर्ष पुग्दै थिइन् ।

भाइटीकाको भोलिपल्ट कात्तिक २१ गते बिहान साढे १० बजेतिर मनीषा घरबाट चाउचाउ किन्न नजिकैको पसलमा गइन् । पसल र उनको घरको बीचमा ७/८ वटा घर छन् । करिब ७ मिनेटको बाटोमा जंगल पनि पर्छ ।

पसल पुग्नुभन्दा अगाडि बीच बाटोमा मनीषाको ठूलो बुबाका छोरा प्रकाशसँगै अरू ३ जना भेटिन्छन् । आफूलाई पनि चाउचाउ ल्याइदिनु भन्दै प्रकाशले २० रुपैयाँ मनीषालाई दिए ।

मनीषाले दाइ (प्रकाश) ले दिएको पैसा पनि समातेर घरदेखि करिब आधा घण्टाको बाटो हिँडेपछि पसल पुग्छिन् । उनी पसलबाट २० रुपैयाँ र आफूसँग भएको १० रुपैयाँको एक/एक वटा चाउचाउ बोकेर घरतर्फ लाग्छिन् ।

फर्किंदै गर्दा बाटोमा फुपू नाता पर्ने महिलासँग मनीषाको भेट हुन्छ । उनलाई ती महिलाले सोध्छिन्, ‘नानी खाना खाइस् कि नाई ? नखाएको भए हिँड घर, खाना खाएर जालिस् ।’ मनीषाले खाना नखाने भन्दै प्रकाश दाइहरूले कुरिरहेको बताउँदै अगाडि बढ्छिन् ।

चाउचाउ किनेर घर जानका लागि हिँडेकी मनीषा घर पुगिनन् । मनीषा हराएको भन्दै घरमा खोजी भयो । तर उनका दिदी र आफन्तले फुपूको घरमा गएकी होली भन्दै न त पुलिसलाई खबर गरे न त दिदीको घरमा गएका बुबाआमालाई खबर गरे ।

कात्तिक २२ गते पनि मनीषा नफर्किएपछि गाउँमा खैलाबैला मच्चियो । दिदीको घरमा टीका लगाउन पुगेका बुबाआमाकहाँ छोरी मनीषा घर नफर्किएको खबर पुग्यो । छोरी नफर्किएको खबर सुनेपछि उनीहरू हतारिँदै घर फर्किए ।

छोरी हराएको भन्दै प्रहरीमा जाहेरी पनि दिए । बालिकालाई खोज्दै जाँदा घरभन्दा केही मिटरको दूरीमा उनको चप्पल भेटिन्छ । त्यसको करिब २ सय मिटरको दूरीमा मनीषाका बुबा गगनले छोरी मनीषालाई भेट्छन् । ‘छोरी त भेटिई तर जिउँदो भेटिएन,’ उनले भने, ‘मेरी छोरीको निर्मम तरिकाले हत्या गरिदिएछन्, उनको बलात्कारसमेत भएछ ।’

२१ गते चाउचाउ लिएर फर्किंदा त्यही जंगलमा बसेका ती ‘दाइ’ हरूमध्ये प्रकाशले मनीषालाई समातेर जुरुक्कै उचालेर बाटो कटाउँछन् । अनि जबर्जस्ती गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ‘

बालिका भाग्न खोजेको देखिन्छ, तर प्रकाशले बाटोमै जबर्जस्ती गरेर जंगलतर्फ लगेको देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले भने, ‘उसले करणी गरेको स्वीकार गरिसकेको छ ।’

शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश अनुसन्धान ब्युरो पनि खटियो । शव देखेरै प्रहरीले सहजै अनुमान गर्‍यो कि जबर्जस्ती करणीपछि घाँटी रेटेर हत्या भएको भनेर । यसै क्रममा पसलबाट फर्किंदै गर्दा बीच बाटोमा भेटिएकी मनीषाको फुपूसम्म पुग्यो प्रहरी ।

‘पसलबाट फर्किंदा खाना खाइस् कि खाइनस् भनेर सोध्ने फुपूको क्लु नै अभियुक्तसम्म पुग्ने बलियो आधार बन्यो,’ एसपी विष्टले भने, ‘बालिकालाई पैसा दिएर चाउचाउ लिन लगाएको, बीच बाटोमा पर्खिएको सबै मनीषाले फुपूसँग गरेको हुँदा उनले (मनीषाको फुपू) दिएको बयानलाई पछ्याउँदै जाँदा दोषीसम्म पुग्यौं ।’

अहिले प्रहरीले ३ जनालाई पुर्पक्षका लागि थुनामा राखेको छ । जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा दाइ नाता पर्ने सोही ठाउँका २१ वर्षीय सन्तोष सुनार, १९ वर्षीय विक्रम सुनार र १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको हो । पक्राउ परेका तीन जना र मनीषा भाइ–भाइका छोराछोरी हुन् ।

मनीषाका बुबा गगनबहादुर सुनार दृष्टिविहीन अपांगता भएका व्यक्ति हुन् । उनले आफ्नी छोरीको हत्यारालाई कडा कारबाहीको माग गरे ।

मनीषाका फुपाजु अमरबहादुर गोइराले घटनापछि गाउँ नै शोकमा डुबेको बताए । ‘गाउँ नै त्रासमा छ,’ उनले भने, ‘हाम्रा छोरीहरूमाथि पनि यस्तो घटना हुन्छ कि भनेर त्रसित छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here