बाढीपहिराले तल्लो र माथिल्लो मनाङ जोड्ने स्थलमार्ग अवरुद्ध, नयाँ ट्रयाक बनाएर जोडिँदै

फाइल तस्बिर

शनिबार, मनाङ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको छ ।

स्थलमार्ग अवरुद्ध भएपछि आवतजावत पूर्ण रुपमा बन्द छ । धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

frontline

‘मनाङको लाइफलाइनका रुपमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा नयाँ ट्रयाकसहितको भिरको कटान भइरहेको छ, यो भिरमा ट्रयाक निर्माण भएपछि माथिल्लो मनाङसँग जोडिनेछ’, सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनियर सुमन अधिकारीले भने ।

तल्लो र माथिल्लो मनाङ जोड्ने सडकखण्डअन्तर्गत सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भिरमा बाढीपहिराले सडक पूर्णरुपमा क्षति भएको छ । यस भिरमा सडक निर्माण भएपछि माथिल्लो र तल्लो मनाङ आवतजावतमा सहज हुने उनले बताए ।

माथिल्लो मनाङका मानिस सामान्य बिरामी भएको अवस्थामा समेत चामेस्थित स्वास्थ्य कार्यालय मनाङसम्म ल्याउन मुस्किल रहेकाले यस सडक मर्मतपश्चात् यहाँ सहज यात्रा गर्न सकिने उनको भनाइ छ ।

‘अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले धेरै जोखिम बढाएको छ, बम प्रहार गर्नका लागि ड्रिलिङको काम भइरहेको छ, नेपाली सेनाले उक्त क्षेत्रमा चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम गरिनेछ’, इञ्जिनियर अधिकारीले भने ।

यहाँ चट्टानलाई कोपेर केही भित्रपट्टिबाट सडक सञ्जाल बनाइएको छ । उनका अनुसार उक्त क्षेत्रमा सडक निर्माणका लागि ड्रिलिङको काम सकिएपछि बम हानेर सडक निर्माण गरिनेछ । सडक निर्माणका लागि चट्टानमा प्वाल बनाउने कार्य भइरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।

सडक सञ्जाल जोड्नका लागि अन्य स्थानमा जेसिबीको प्रयोगबाट खन्ने कार्य भइरहेको छ । बेंसीशहर–चामे सडकअन्तर्गतको बेंसीशहरबाट माथि २२ किमी सडक खुलाइसकिएको छ । त्यस्तै चामेबाट माथिल्लो क्षेत्रमा पनि सडक खुलाइसकिएको छ भने तलेखु–भ्राताङ भिरको सडक बन्ने प्रक्रियामा छ ।

उक्त सडक मर्मतका लागि गृहमन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । तर पुनः गत असार १ गते आएको बाढीपहिराले मनाङका धेरै स्थानमा सडक पूर्णरुपमा क्षति भएका छन् । अहिले उक्त क्षेत्रमा नेपाली सेनाले पहाड फोडेर सडकको नयाँ ट्रयाक निर्माण भइरहेको इञ्जिनियर अधिकारीले जानकारी दिए ।

बाढीपहिराको क्षति पुर्‍याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भएबमोजिम मर्मत थालिएको हो । बेंसीशहर–चामे सडकखण्ड १०७ किलोमिटर रहेको छ । सडकअन्तर्गत केही स्थानमा नयाँ ट्रयाक पनि खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here