बाढीको जोखिम कायमै, सतर्क रहन महाशाखाको आग्रह

काठमाण्डु  । मनसुन सुरु हुनासाथ देशका धेरै ठाउँमा बाढी पहिरो जाने क्रम बढेको छ । दर्जनौँ घर बाढीले बगाउँदा हजारौँ बासिन्दा विस्थापित भएका छन्  ।

मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज पनि नदी, ठूला तथा साना खोलामा बाढीको सम्भावना रहेको बताइएको छ ।

frontline

आज कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, तिनाउ, बबई लगायतका नदीमा बाढी आउन सक्ने सम्भावना रहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीमा पनि पानीको सतह घटबढ हुन सक्ने चेतावनी दिइएको छ ।

आज वाग्मती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाण्डु, चितवन र मकवानपुरका नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ भने गण्डकी प्रदेशका गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

लुम्बिनी प्रदेशको दाङ, प्युठान, बाँके, बर्दिया, रुकुमका नदी तथा खोलामा पनि पानीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ । यता कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, कालीकोट, जाजरकोट र हुम्लामा पनि बाढी आउने जोखिम छ ।

लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजार, बझाङ र दार्चुला र आसपासका जिल्ला भएर बहने साना नदीमा पनि पानीको बहाव बढी आउने भन्दै सतर्क रहन आग्रह गरिएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरेको जनाएको छ । ११५५ नम्बरमा फोन गरेर वर्षा र बाढीबारेको जानकारी थाहा पाउन सकिने बताईएको छ । साथै उद्धारको लागि सहायता माग्न पनि ११५५ मा फोन गर्न सकिने प्राधिकारणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here