बागचौरमा पञ्चेबाजा बजाउने तालिम सम्पन्न ।

बागचौर नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको १० दिने पञ्चेबाजा बजाउने तालिम सम्पन्न भएको छ। स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत पञ्चेबाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा नगरपालिकाका विभिन्न वडाबाट महिला समूहका सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

१० दिनसम्म सञ्चालन भएको तालिममा सहभागी महिलाहरूलाई नरसिंहा, दमाहा, ट्याम्को, झ्याली र सनईलगायत पञ्चेबाजाका विभिन्न वाद्यवादन बजाउने सीप, यसको सांस्कृतिक महत्व तथा संरक्षणका उपायबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

frontline

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख जनकराज गौतमले पञ्चेबाजा नेपाली मौलिक संस्कृति र पहिचानको अभिन्न हिस्सा भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। “पञ्चेबाजा हाम्रो मौलिक संस्कृति र पहिचानको अभिन्न हिस्सा हो। पछिल्लो समय परम्परागत कला–संस्कृति लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक छ। महिलाहरूको सक्रिय सहभागिताले पञ्चेबाजा संरक्षण अभियानलाई थप ऊर्जा दिएको छ,” उहाँले भन्नुभयो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर भट्टराईले यस्ता तालिमले महिलाको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। “पञ्चेबाजा केवल मनोरञ्जनको माध्यम मात्र नभई हाम्रो मौलिक संस्कृति र सामाजिक सभ्यताको परिचायक पनि हो। महिलाहरूले देखाएको उत्साहले परम्परागत कलाको संरक्षणमा नयाँ आशा जगाएको छ,” उहाँले बताउनुभयो।

तालिममा सहभागी महिलाहरूले पनि आफूहरूले नयाँ सीप, ज्ञान र आत्मविश्वास प्राप्त गरेको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समापन कार्यक्रममा नगर प्रमुख जनकराज गौतम, प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर भट्टराई, समाज विकासका लागि जनजागरण केन्द्र, सल्यानका युवराज वली, शिव डाँगी, प्रशिक्षक विनोद परियार, रमेश परियार तथा सहभागी महिलाहरूको उपस्थिति रहेको थियो।

बागचौर नगरपालिकाको आयोजनामा तथा समाज विकासका लागि जनजागरण केन्द्र, सल्यानको समन्वयमा सञ्चालन भएको उक्त तालिमले महिलाहरूमा सीप विकाससँगै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षणप्रति थप जागरण ल्याएको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here