बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिन बोलाइयो प्राविधिक टोली

फाइल तस्बिर

२६ पुस, बाँके । लगालग मान्छेको ज्यान लिन थालेपछि बाँकेमा पहिचान गरी नरभक्षी बाघ नियन्त्रणमा लिन फेरि प्राविधिक टोली बोलाइएको छ।

गत भदौमा एक जना भारतीय नागरिकको ज्यान लिएपछि बाघ नियन्त्रणमा लिन भनेर बर्दिया राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली  पुगे पनि नियन्त्रणमा लिन सकेको थिएन।

frontline

बर्दिया राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जबाट बाघ नियन्त्रणका लागि प्राविधिक सहितको टोली बोलाइएको छ।

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले आइतबार बेलुकासम्म प्राविधिक टोली बाँकेमा आइपुग्ने जानकारी दिए।

‘बर्दियामा पनि बाँकेमा जस्तै बाघहरू देखिन थालेको हुँदा प्राविधिक टोली त्यतै अल्झिएको भन्ने कुरा आएको छ,’ खड्काले भने, ‘बर्दिया वा चितवन जहाँको टोली पहिला आइपुग्छ त्यसैले काम सुरू हुन्छ।’

प्रदेश तथा संघीय वन मन्त्रीसँगको समन्वयमा लगालग बाघले मानिसको ज्यान लिन थालेपछि स्थानीय त्रसित बनेको हुँदा बाघ नियन्त्रणमा लिनको लागि सहयोग माग्नु परेको सूचना अधिकारी खड्काले जानकारी दिए।

‘मानिसमाथि हमला गर्ने र ज्यान लिने बाघको पहिचान गर्ने यन्त्रसहित आउने प्राविधिक टोलीले डार्ट गरी बाघ नियन्त्रणमा लिन प्रयास हुने छ,’ उनले भने, ‘बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीसँग ती सबै सामग्रीहरू उपलब्ध छन्।’

क्यामेरा ट्यापिङका आधारमा पुस २२ गते बच्चासहितको पोथी बाघले मानिसको ज्यान लिएको देखिए पनि पुस २४ गते भाले बाघले मानिसको ज्यान लिएको देखिएको भनेर प्राविधिक टोलीले दाबी गरेको सूचना अधिकारी खड्काले जानकारी दिए।

‘मानिसमाथि आक्रमण गर्ने तथा ज्यान लिने बाघ एउटै नभइ फरक–फरक हुन् भन्ने छ,’ खड्काले भने, ‘ती बाघको पहिचानपछि मात्रै नियन्त्रणमा लिन प्रयास हुनेछ।’

स्थानीय सर्वसाधारण घाँस, दाउरा ल्याउन, पात टिप्न, बस्तुभाउ चराउन गएको समयमा बाघले आक्रमण गरी ज्यान लिने क्रम बढेको छ।

स्थानीयलाई जीवनयापन गर्न साँझ-बिहान जंगल नगई हुँदैन। अर्कोतर्फ राज्यले जैविक विविधताका लागि बाघ संरक्षण अभियान चालेको छ।

बाघको संख्या बढ्नु र मानिसको संख्या पनि बढेर वन पैदावारको आवश्यकता पनि बढ्दै जाने हुँदा वन गएको समयमा आक्रमण बढेको खड्काले तर्क गरे।

‘पछिल्ला दुई घटना बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका सामुदायिक वनमा भएको पाइएको छ,’ उनले भने, ‘पुस २४ गतेको घटना झन्डै ७ किलोमिटर जति भित्र जंगलमा भएको देखियो।’

स्थानीय सर्वसाधारण ख्याल नै नगरी त्यति धेरैभित्र जंगलमा जानुले पनि जोखिम बढेको उनले तर्क गरे।

कमजोरी स्थानीयको समेत देखिएको हुँदा चेतना फैलाउन डिभिजन वन कार्यालय बाँके, बाँके राष्ट्रिय निकुञ्ज जस्ता सरोकारवालाबाट स्थानीय रेडियोमार्फत सूचना प्रवाह सुरू गरेको खड्काले बताए।

‘राज्यको नीतिअनुसार हामीले बाघको संख्या वृद्धि गरी जैविक विविधताको पनि संरक्षण गर्नुछ र अर्कोतर्फ स्थानीयलाई पनि जोगाउनु पर्ने चुनौती थपिएको छ,’ उनले भने, ‘बाघको संख्या पनि थपिनु र मानिस पनि उसको घर जंगलमा प्रवेश गर्न नछोड्नुले दुःखद घटना निम्तिएका हुन्।’

सर्वसाधारणमा यस्ता कुराबारे सचेतना फैलाउन सकेमा मानिसमाथि हुँदै आएका आक्रमणका घटनामा न्यूनिकरण हुन सक्ने उनले आशा व्यक्त गरे।

भदौ यता मात्रै दाङसँग सीमाना जोडिएको बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका क्षेत्रमा बाघको आक्रमणबाट चार जना स्थानीयको ज्यान गइसकेको छ। अन्य केहीमाथि बाघले आक्रमण गरेको भए पनि जोगिन सफल भएका छन्।

भदौदेखि नै बाघको निगरानी गर्न तथा बाघलाई राष्ट्रिय निकुञ्ज अन्तरगतको घना जंगल क्षेत्रमा भगाउन भनेर नेपाली सेनासहितको सुरक्षा टोली त्यसक्षेत्रमा खटिँदै आएको छ।

बाघको निगरानी गर्न भनेर हात्तीबाट गस्ती हुँदै आएको छ। साथै झिसमिसे बेलुकादेखि बिहान घाम नझुल्किँदासम्म निकुञ्ज क्षेत्रको पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल, साइकलजस्ता साना सवारी साधनमा एक्लै यात्रा गर्न पनि प्रतिबन्ध लगाउँदै आइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here