बन्दको प्रभावले पोखरामा जनजीवन प्रभावित, लेखनाथमा शङ्कास्पद वस्तु भेटियो
७ भदौ, पोखरा । विभिन्न ४ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव आज बिहानैदेखि पोखरामा पनि परेको छ ।
सरकारले ‘राष्ट्रघाती’ अमेरिकी सहयोग एमसिसी संसद्बाट पारित गरेको विरोधमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त रूपमा आज नेपाल बन्दको घोषणा गरेका हुन् ।
उनीहरूले सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बन्दका कारण सडकमा मोटरसाइकल, स्कुटर केही चलेपनि अन्य गाडीहरू ठप्प छन् । बजारका सटर खुलेका छैनन् भने स्कुल समेत खुलेका छैनन् ।
मुख्य चोकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । कास्कीमा हालसम्म अप्रिय घटना भने नभएको बताइएको छ ।
यसैबीच, लेखनाथमा शङ्कास्पद बस्तु भेटिएको छ । पोखरा २७ सुन्दर बजार नजिक शङ्कास्पद बस्तु भेटिएको हो । त्यसतर्फ नेपाली सेनाको टोली गइसकेकाे छ।
प्रतिक्रिया दिनुहोस्