बझाङको बुंगलमा बाढी–पहिरोले घर, घट्ट र कुलो बगायो

 समाचार सारांश

  • बझाङको बुंगल नगरपालिकामा वर्षापछिको बाढीपहिरोले घर, पानी घट्ट, सिँचाइ कुलो र मन्दिरमा क्षति पुर्यायो।
  • बाढीले स्थानीय कृष्णराज जोशीको घर पूर्ण रूपमा क्षति पुर्यायो, साथै अन्य दुई घर र अन्नपातमा पनि क्षति पुग्यो।
  • नगरपालिकाले उद्धारका लागि टोली परिचालन गर्दैछ भने प्रहरी घटनास्थलमा मुचुल्का तयार गरिरहेको छ।

धनगढी । बझाङको बुंगल नगरपालिकामा वर्षापछि आएको बाढी र पहिरोले भौतिक संरचनामा क्षति पुर्‍याएको छ। नगरपालिकाका उपमेयर धनबहादुर बोहराका अनुसार वडा नम्बर ७ मा रहेको घट्ठे खोलामा आएको बाढी र पहिरोले स्थानीयको घर, पानी घट्ट, सिँचाइ कुलो र मन्दिरमा क्षति पुर्‍याएको हो। घटनामा कुनै मानवीय क्षति भने नभएको उनले बताए।

frontline

उनकाअनुसार, वडा नम्बर ७ को बीचमा रहेको घट्ठे खोलाको मुहानमा निकै ठाडो जमिन छ। रातभरि परेको वर्षाका कारण माथिबाट पहिरो खस्यो। त्यो पहिरो पानीसँग मिसिएर लेदो बन्यो र बाढीको रूपमा उर्लिएर बग्दा ठूलो विनाश निम्त्यायो।

 ‘त्यो पहिरो पनि, बाढी पनि जस्तो भयो,’ उनले भने, ‘पुरै लेदो बनेर त्यसले क्षति गर्‍यो।’ बाढीले स्थानीय कृष्णराज जोशीको घर पूर्ण रूपमा पुरेको छ। उनको घर अब बस्न नमिल्ने गरी क्षति भएको र छानोमा भएका स्लेटहरू मात्र निकाल्न बाँकी रहेको बोहराले बताए। 

यस्तै डिला लोहार र ओकिल लोहारको घर, शौचालय र धान कुट्ने मिलमा पनि क्षति पुगेको छ। उनीहरूको घरमा भएको अन्नपात पनि बाढीले नष्ट गरिदिएको छ।
बाढीले ६ वटा पानी घट्ट र तिनका कुलोहरू पूर्ण रूपमा बगाएको छ भने करिब आठ वटा सिँचाइ कुलो पनि नष्ट भएका छन्।

यसैगरी वडा ७ का अध्यक्ष टंकप्रसाद जोशीको पसलभित्र पनि बाढीको लेदो पसेको छ। स्थानीयको आस्थाको केन्द्रको रूपमा रहेको दहजार मन्दिरको परिसर समेत पूरै लेदोले ढाकेको र मन्दिरको टुप्पो मात्र देखिने अवस्थामा रहेको जानकारी आएको बोहराले बताए।

बुंगल नगरपालिका बाढी र पहिरो दुवैको हिसाबले उच्च जोखिममा रहेको उपमेयर बोहरा बताउँछन्। उनका अनुसार नगरपालिकाको तल्लो तटीय क्षेत्रमा ठूला नदीहरूका कारण बाढीको जोखिम छ भने माथिल्लो भेग भिरालो भएकाले पहिरोको अत्यन्तै धेरै सम्भावना छ।

‘समग्रमा हाम्रो पालिका जोखिममै छ। मानिसहरू भिरालो जमिनमा घर बनाएर बसेका छन्। पछिल्लो समय बनेका कच्ची सडक संरचनाले पनि कतिपय ठाउँमा डिस्टर्ब गरेको छ’, उनले भने । 

नगरपालिकाले विपद्को समयमा सचेतना अभियान चलाउने गरे पनि नागरिकस्तरमा  विपद् सामनाको तयारी कमजोर रहेको उनको अनुभव छ। नगरपालिकाले अहिले उद्धारका लागि नगरको टोली परिचालन गर्ने तयारी गरिरहेको छ। ‘हामीसँग मनग्य स्रोतसाधन हुँदैन, तर पनि उद्धार र पुनस्र्थापनाका लागि जे सकिन्छ त्यो गरिरहेका छौँ, यो हाम्रो ड्युटी हो,’ बोहराले भने।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठुगन्नाका अनुसार बिहान खवर प्राप्तपछि प्रहरी टोली घटनास्थलमा गएको थियो। अहिले घटनास्थलमा मुचुल्का तयार गर्ने काम भइरहेको उनले बताए । 

#पहिरो #बाढीपहिरो #बझाङ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here