बजेटमा सिएनआईको पनि दोस्रो विज्ञप्ति, वायर रड, स्यानिटरी प्याड, घिउतेलमा भन्सार दर संशोधनको माग
२७ जेठ, काठमाडौं । पूर्वका उद्योगीको हड्तालपछि नेपाल उद्योग परिसंघले पनि दोस्रो विज्ञप्ति जारी गर्दै वायर रड, स्यानिटरी प्याड, र घिउतेल उद्योगमा भएको भन्सार दर परिवर्तन संशोधनको माग गरेको छ।
परिसंघले पनि नेपाल उद्योग वाणिज्य महासंघजस्तै सुरुमा बजेटको स्वागत गरेको थियो। तर पूर्वमा परिसंघले समेत बजेटमा स्वदेशी उद्योगमाथि पक्षपात भएको भन्दै सडक आन्दोलनमा उत्रिएपछि केन्द्रबाटै दोस्रो विज्ञप्ति जारी गर्नुपर्ने अवस्था आएको हो।
परिसंघले सरकारको राजश्व नीतिका कारण वायर रड उद्योग, घ्यू तेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद्योग जस्ता स्वदेशी उद्योगहरु प्रत्यक्ष मारमा परेको जनाएको छ।
‘भारत सरकारले स्वदेशी उद्योगहरुको संरक्षण गर्ने नीति अबलम्बन गर्दै वायर रड निर्यातमा १५ प्रतिशत निर्यात कर लगाएको छ। तर वायर रडबाट बन्ने तयारी सामानको निर्यातमा कुनै कर लगाएको छैन् ।
यसका कारण वायर रड आयात गरी विभिन्न प्रकारका फलामे तारहरु नेपालमा उत्पादन गर्दा नेपाली उद्योगहरुको लागत निकै बढी पर्ने भएको छ,’ परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतले आफ्ना उद्योगहरुको संरक्षण गर्ने नीति लिएसँगै नेपाल सरकारले समेत स्वदेशी उद्योगहरुको संरक्षण गर्नुपर्नेमा यस्ता वस्तुहरुमा भन्सार तथा अन्तःशुल्क बढाएर स्वदेशी उद्योगहरुलाई धरासायी बनाउने वातावरण बनेको छ।’
परिसंघले भारतले कच्चा खाने तेलको भन्सार महशुल शून्य प्रतिशतमा झार्दै ५ प्रतिशत मात्र जिएसटी कायम गरेको बताउँदै नेपालमा यस्तो कच्चा खाने तेलको आयातमा भन्सार महशुल १० प्रतिशत र भ्याट १३ प्रतिशत लाग्दा खुला सिमानाका कारण भईरहेको अनधिकृत पैठारीले थप बल पुर्याउिने जिकिर गरेको छ।
स्यानिटरी प्याडहरु स्वास्थ्यको न्यूनतम आधारभूत आवश्यकता भएको जनाउँदै परिसंघले यस्ता वस्तुहरु मुलुकमै न्यूनतम मूल्यमा उत्पादन हुन सक्ने गरी संरक्षण गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस्