बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मानवताविरुद्धको अपराध मुद्दामा सुनुवाइ हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • आईसीटी अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवता विरुद्धको अपराध मुद्दाको सुनुवाइ सुरु गरेकाे छ।
  • हसिनामाथि विद्यार्थी आन्दोलन दबाउन शक्तिको दुरुपयोग र हिंसा भड्काएकाे आरोप लागेको छ।
  • सुनुवाइ निष्पक्ष हुने भन्दै आईसीटीका प्रमुख अभियोजकले प्रमाण अध्ययन भइरहेको बताएका छन्।

१८ जेठ, काठमाडौं । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराध मुद्दाको सुनुवाइ औपचारिक रूपमा सुरु गरेको छ ।

frontline

गत वर्ष आफ्नो सरकार विरुद्धको प्रदर्शनमा ‘नियोजित आक्रमण’ गरेको अभियोगको मुद्दामा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध आइतबार सुनुवाइ भइरहेको हो । सन् २०२४ को जुलाई र अगस्टमा तत्कालीन सरकारविरुद्धको प्रदर्शन चर्किएपछि भड्किएको हिंसापश्चात भागेर भारतमा शरण लिइरहेकी हसिनामाथि सामूहिक हत्या, उक्साहट, मिलोमतो, षडयन्त्र, हिंसा नियन्त्रणमा असफल भएको लगायतको अभियोग लगाइएको छ ।

हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलन दबाउन शक्तिको दुरुपयोग गरेको आरोप छ । उक्त आन्दोलनमा राज्यपक्षले क्रुर दमन गर्दा एक हजार ४ सय मानिसको मृत्यु भएको थियो । तर, हसिनाले भने यी आरोपलाई राजनीतिक प्रतिशोध भन्दै अस्वीकार गर्दै आएकी छन् ।

बंगलादेशको इतिहासमै उच्चपदस्थ व्यक्तिमाथि लागेको गम्भीर अपराधको मुद्दामा भइरहेको सुनुवाइको त्यहाँको सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।
सन् १९७१ को स्वतन्त्रता लडाइँको क्रममा भएका अपराधहरुको अनुसन्धान गर्न भन्दै हसिनाले नै सन् २००९ मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) अदालत बनाएकी थिइन् ।

आईसीटीले त्यतिबेला थुप्रै प्रमुख राजनीतिक विपक्षीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो । आईसीटीलाई हसिनाले आफ्ना प्रतिद्वन्द्विहरुको सफाया गर्न प्रयोग गरेको आरोप लाग्ने गरेको थियो ।

सत्ताच्युत भएपछि सोही अदालतमा हसिनामाथिको अभियोजनमा मुद्दा चल्नुलाई महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । हसिनासँगै बंगलादेशमा हाल प्रतिबन्ध लागेको उनको पार्टी अवामी लिगका नेताहरु, तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल–मामूनविरुद्धपनि सोही अभियोगमा मुद्दा चलाइएको छ ।

प्रहरी प्रमुख चौधरी अहिले हिरासतमा छन् भने अवामी लिगका नेताहरु र गृहमन्त्री खान कमल समेत देश छाडेर भागेका छन् । अभियोजनका विषयमा प्रारम्भिक प्रतिक्रिया दिँदै आईसीटीका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले घटनाबारेका प्रमाणहरु अध्ययन गर्दा तत्कालीन सरकारले हिंसा भड्काएर नियोजित आक्रमण गरेको देखिएको बताएका छन् ।

विद्यार्थी आन्दोलनलाई दबाउन हसिना र उनी नेतृत्वको सरकारले राज्यका सबै निकायको दूरुपयोग गर्दै परिचालनले गरेको उनले बताए । अभियोजनको सुनुवाइ निष्पक्ष उनले बताए । हसिनासहितका अधिकारीविरुद्धको अभियोजनको सुनुवाइको बारे बताउँदै उनले भने, ‘यो प्रतिशोधको कार्य होइन, तर लोकतान्त्रिक देशमा मानवता विरुद्धको अपराधका लागि कुनै ठाउँ छैन भन्ने सिद्धान्तप्रतिको प्रतिबद्धता हो ।’

आईसीटीका अनुसन्धानकर्ताहरूले भिडियो फुटेज, अडियो क्लिप, हसिनाको फोन वार्तालाप, हेलिकोप्टर र ड्रोनको आवतजावतको अभिलेख, साथै दमनका पीडितहरूको बयानहरू संकलन गरेका छन् ।

आईसीटी अदालतले मे २५ मा अघिल्लो सरकारसँग सम्बन्धित आफ्नो पहिलो मुद्दाको सुनुवाइ सुरु गरेको थियो । त्यो मुद्दामा, आठ प्रहरी अधिकारीहरूलाई अगस्ट ५ मा छ जना प्रदर्शनकारीको हत्याको लागि मानवता विरुद्धको अपराधको आरोप लगाइएको छ, जुन दिन हसिना देशबाट भागेकी थिइन् । चार जना अधिकारी हिरासतमा छन् र चार जनाको अनुपस्थितिमा मुद्दा चलाइँदैछ ।

आइतबार बिहान, सर्वोच्च अदालतले सबैभन्दा ठूलो इस्लामवादी पार्टी, जमात–ए–इस्लामीको दर्ता पुनस्र्थापित गर्‍यो, जसले यसलाई चुनावमा भाग लिन अनुमति दियो ।
हसिनाले आफ्नो कार्यकालमा जमात–ए–इस्लामीलाई प्रतिबन्ध लगाएकी थिइन् र यसका नेताहरूमाथि दमन गरेकी थिइन् ।

बंगलादेशको अन्तरिम सरकारले अवामी लिगलाई हसिना र उनका पार्टीका नेताहरुको मृद्दाको अन्तिम नतिजा नआउँदासम्मका लागि प्रतिबन्ध लगाएको छ । बंगलादेशका बाँकी राजनीतिक दलहरुले हसिनासहित उनी नेतृत्वको सरकारका अधिकारीहरुमाथिको यो अभियोजनलाई नजिकबाट हेरिररहेको बताएका छन् ।

हसिनाले आफ्नो कार्यकालमा बाँकी राजनीतिक दललाई निषेध गर्न प्रतिशोधपूर्ण व्यवहार गरेकाले पनि उनीहरुविरुद्ध आन्दोलन चर्किएको बताइन्छ । बंगलादेशको हालको अन्तरिम सरकारले सन् २०२६ को जुनअघि नै चुनाव गराउने प्रतिबद्धता जनााएको छ ।

बंगलादेश |मानवताविरुद्धको अपराध  |शेख हसिना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here