प्रेमीसँग मिलेर श्रीमानको हत्या
२२ मंसिर, भोपाल । भारत मध्य प्रदेशको राजधानी भोपालमा आफ्नो प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।
उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमिइन्। पक्राउ परिन्छ भन्ने डर लागेपछि उनीहरुले प्रहरीसामु आत्मसर्मपण गरेका थिए ।
घटना मंगलबारको हो। अपरान्ह एक महिला प्रहरी चौकी पुगेर आफ्नो प्रेमीसँग मिलेर पतिको हत्या गरेको प्रहरीलाई बताएकी थिइन्।
सुरुमा त प्रहरीले ती महिलाको कुरा सुनेर पत्याएनन् । लगत्तै प्रहरीले कारको डिक्की खोल्दा त्यहाँ रगतले लतपतिएको शव भेट्यो ।
प्रहरीले तत्काल ती महिला र उनको साथमा आएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
संगीता नाम गरेकी ती महिलाले आफ्नो पतिले आफूमाथि शंका गर्ने र आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेपछि प्रेमीसँग मिलेर पतिको हत्या गरेको बयान प्रहरीसमक्ष दिएकी छन् ।
संगीता उनका छिमेकी पेशाले इन्जिनियर आशीष पाण्डेसँग प्रेममा थिइन् । उनले पाण्डेसँग मिलेर पति धनराजको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको भारतीय संचारमाध्यमहरुमा समाचार छ।
आफ्नी पत्नीको पाण्डेसँग सम्बन्ध रहेको थाहा पाएपछि पति/पत्नीबीच झगडा भइरहन्थ्यो । त्यही कारण पत्नीले प्रेमिसँग मिलेर पतिको हत्या गर्ने योजना बनाएकी थिइन्।
यसरी गरिन् पतिको हत्या
हत्या गर्ने रात संगीताले श्रीमान् धनराजलाई काडाँ पानी बनाएर दिइन् । त्यसमा पतिले थाहा नपाउने गरी स्लीपिङ ट्यावलेटको १० गोली हालिदिइन् । त्यस पछि धनराज सुते र उनी मस्त निदाए।
त्यसपछि संगीताले आफ्नो प्रेमी पाण्डेलाई घरमा बोलाइन् । पाण्डेले मस्त निदाइरहेका धनराजको टाउकोमा पटकपटक रड प्रहार गरेर हत्या गरे ।
हत्यापछि शव आफ्नो गाडीको डिक्कीमा राखे र दुवैजना मिलेर शव व्यवस्थापन गर्न खोजे ।
तर, उनीहरुले जसरी भएपनि प्रहरीले आफूहरुलाई पक्राउ गर्ने अनुमान गरे । त्यसपछि लगत्तै उनीहरुले प्रहरीसमक्ष आत्मसर्मपण गरे।
प्रतिक्रिया दिनुहोस्