प्रहरीले महिलामाथि लाठी हानेको भिडिओ भाइरलपछि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं ।  प्रहरीले एक महिलामाथि लाठी हानेको भिडिओ केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ। 

झन्डै २५ सेकेन्डको उक्त भिडिओमा ती महिलाले तपाईंलाई हान्न सरकारले अधिकार दिएको भन्ने प्रश्न गरेपछि प्रहरीले लाठी हानेको देखिन्छ।

frontline

पुरुष प्रहरीले महिलामाथि लाठी हानेको उक्त भिडिओलाई लिएर प्रहरीको चर्को आलोचना भएपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ। 

भाइरल भिडिओबारे एक सामाजिक सञ्जाल प्रयोगकर्ताले केन्द्रीय प्रहरी कार्यालय नक्सालमा जानाकारी गराएका थिए। जानकारी पाएपछि प्रहरीले अनुसन्धान थालेको हो।

प्रहरीले महिलामाथि लाठीले हानेको घटना नुवाकोटको भएको केन्द्रीय प्रहरी कार्यालय नक्सालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए।

‘यसबारेमा जानकारी पाएपछि हामीले अनुसन्धान गर्‍यौं। घटना नुवाकोटको भन्ने खुल्यो,’ उनले भने,’ हामी यसबारेमा थप अनुसन्धान अघि बढाएर कारबाहीको दायरामा ल्याउँछौं।’

उनका अनुसार यो घटना केही दिन अघिको हो। यद्यपी सबै कुरा अहिले खुलिसकेको छैन।

‘जे भए पनि गलत भएको हो। यसमा हामीले डिफेन्ड गर्ने कुरा हुन्न। सम्बन्धित व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन भनेका छौं,’ एसएसपी कुँवरले भने।

यसबारे जिल्ला प्रहरी कार्यालय नुवाकोटले थप अनुसन्धान अघि बढाएको छ।

नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीका अनुसार घटना विदुर नगरपालिका वडा नम्बर ४ स्थित बसपार्कको हो।

उनले त्यँहा कार्यरत प्रहरी कर्मचारी हुनसक्ने भन्दै सोधपुछ गरिरहेको बताए।

‘भिडिओ हेरें। बसपार्कमा कार्यरत युनिटको मान्छे हो किजस्तो लागेको छ।

अनुहार चिनिदैन, त्यँहा दुई-तीन जना छन्।

बोलाएर सोधपुछ गरिरहेका छौं,’ एसपी कार्कीले भने,’भिडिओ पनि धेरै लामो नभएको हुँदा के भएको हो सबै हेर्दैछौं। पत्ता लाग्यो कारबाही हुन्छ।’

उनका अनुसार एक उद्योगमा काम गर्ने श्रीमान/श्रीमतीबीच केही दिनअघि झगडा भएको थियो।

झगडा हुँदा श्रीमान घाइते  भएका थिए। उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।

त्यसै क्रममा लाठी हानिएको घटना भएको कार्कीले बताए।

अहिले ती श्रीमान-श्रीमती पनि काठमाडौं उपत्यका आइसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here