प्रशासनद्वारा अक्सिजन सिलिन्डर जफत

काम गर्दागर्दै प्रशासनले सिलिन्डर उठाएर लग्यो, हामी पनि अचम्मित भएका छौं -उपप्रमुख रम्भा कुँवर

सुरक्षामा हामीले कमी गरेका थिएनौं, भरेर आइसोलेसनमा राखिएको सिलिन्डर पनि प्रशासनले लगेको छ 

परासी — रामग्राम नगरपालिकाले अव्यवस्थित रूपमा अक्सिजन सिलिन्डर राखेको भन्दै जिल्ला प्रशासन कार्यालयले सोमबार राति ५० वटा सिलिन्डर जफत गरेको छ ।

frontline

प्रशासनले विभिन्न उद्योगबाट फिर्ता गर्ने गरी संकलन गरेको सिलिन्डरमा अक्सिजन भर्नका लागि भन्दै रामग्राम नगरपालिकाले ५० वटा सिलिन्डर लगेको थियो । तर नगरपालिकाले १० वटा मात्र सिलिन्डरमा अक्सिजन भरेर बाँकी ४० वटा चौरमा फालिएको गुनासो आएपछि प्रशासनले सुरक्षाका लागि जफत गरेको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।

‘अहिले अक्सिजनको अभाव छ । हामीले उद्योगहरूबाट पछि फिर्ता गर्ने गरी ल्याएका सिलिन्डरमा अक्सिजन भरेर तत्काललाई काम चलाउन अस्पताल र स्थानीय तहका आइसोलेसनलाई दिने गरेका छौं,’ उनले भने, ‘रामग्राम नगरपालिकाले सुरक्षित राख्नुपर्ने सिलिन्डर चौरमा राखेको पाइयो । त्यसैले नियन्त्रणमा लिएका हौं ।’

भारतमा अहिले अक्सिजन सिलिन्डरको कालोबजारी बढिरहँदा नजिकै सीमानाका रहेकाले यसरी सिलिन्डर चौरमा राख्दा हराउन सक्ने प्रशासनले जनाएको छ ।

रामग्राम नगरपालिकाले भने रातको समयमा भरिएका अक्सिजन सिलिन्डर आइसोलेसनमा राखेर खाली सिलिन्डरको सुरक्षाका लागि सेक्युरिटी गार्डको जिम्मा लगाइएको जनाएको छ । ‘राति अबेरसम्म काम भइरहेको थियो । अक्सिजन सिलिन्डरको सुरक्षामा हामीले कमी गरेका थिएनौं,’ नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरले भनिन्, ‘काम गर्दागर्दै प्रशासनले किन त्यसरी सिलिन्डर उठाएर लग्यो, हामी पनि अचम्मित भएका छौं । भरेर आइसोलेसनमा राखिएको सिलिन्डर पनि प्रशासनले लगेको छ ।’

उपप्रमुख रम्भा कुँवर

रामग्राम नगरपालिकामा मात्र कोरोना संक्रमणका कारण १८ जनाले ज्यान गुमाएका छन् । नगरमा सुविधासम्पन्न आइसोलेसन नहुँदा संक्रमित जिल्ला अस्पताल वा होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here