प्रविधि उद्योगको नेतृत्वमा युवापुस्ताको उदय

News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रविधि क्षेत्रमा युवा नेतृत्वको बढ्दो प्रवृत्ति देखिन्छ, जसले नयाँ सोच र नवप्रवर्तनलाई प्रवर्द्धन गर्दछ।
  • सामान्यतया, प्रविधि क्षेत्रका सीईओहरूको औसत उमेर परम्परागत उद्योगहरूभन्दा कम हुन्छ, जसले यस क्षेत्रमा युवाको सक्रियता देखाउँछ।
  • युवा नेतृत्वकर्ताहरूले डिजिटल परिवर्तन र नवप्रवर्तनमा अग्रसरता लिँदै आएका छन्, तर अनुभव र दीर्घकालीन रणनीतिका चुनौतीहरू पनि सामना गर्नुपर्छ।

प्रविधि क्षेत्र विश्वका अन्य व्यवसायिक क्षेत्रहरूभन्दा फरक देखिन्छ, किनभने यसमा नेतृत्वदायी भूमिकामा धेरैजसो युवाहरू छन् । विश्वभरका प्रविधि कम्पनीहरूमा नयाँ पुस्ताको उल्लेखनीय उपस्थिति बढ्दो रहेको तथ्यांकले देखाउँछ । वित्त, उत्पादन वा स्वास्थ्यजस्ता परम्परागत क्षेत्रहरूभन्दा प्रविधि क्षेत्रमा युवापुस्ताका उद्यमी र युवा नेतृत्वकर्ता बढी सक्रिय छन् । उनीहरूको नयाँ सोच र आधुनिक नेतृत्वशैलीले कम्पनीहरूलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गरिरहेको छ ।

frontline

परामर्शदाता संस्था कर्न फेरीको हालैको प्रतिवेदन अनुसार, विश्वव्यापी रूपमा प्रविधि क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको औसत उमेर अन्य ठूला उद्योगका सीईओहरूको तुलनामा धेरै कम देखिएको छ । प्रविधि क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतहरूको औसत उमेर झण्डै ३५ देखि ४५ वर्षको बीचमा छ, जबकि वित्त वा ऊर्जा जस्ता परम्परागत उद्योगहरूमा यो औसत उमेर ५० वर्षभन्दा माथि छ ।

केही चर्चित उदाहरणहरूले यो परिवर्तनलाई स्पष्ट रूपमा देखाउँछन् । मार्क जुकरबर्गले केवल २० वर्षको उमेरमै फेसबुक (हालको मेटा) को स्थापना गरेका थिए र उनी फोर्च्युन म्यागेजिनले प्रकाशन गरेको विश्वका शीर्ष ५०० कम्पनीका सिइओमध्ये इतिहासकै कान्छा सीईओ बन्न बने ।

त्यसैगरी, इभान स्पिगेलले २१ वर्षको उमेरमा स्न्यापच्याटको स्थापना गरे र छोटो समयमा नै यसलाई एक विश्वव्यापी प्लेटफर्ममा रूपान्तरण गरे ।

पछिल्लो उदाहरणको रुपमा १९ वर्षको उमेरमै इथेरियम बनाउने भिटालिक बुटेरिन पनि छन्, जसले ब्लकचेन प्रविधिको माध्यमबाट परम्परागत वित्त प्रणालीमा ठूलो परिवर्तन ल्याएका छन् ।

चुस्त र अनुकूलनशील

प्रविधि क्षेत्रमा युवा नेतृत्व बढ्नुको एक मुख्य कारण भनेको यो क्षेत्र निरन्तर नवप्रवर्तन र तीव्र परिवर्तनसँग जोडिएको हुनु हो । यस्तो कुरा प्रायः युवापुस्ताले सजिलै आत्मसात् गर्छन् । कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, सामाजिक सञ्जालजस्ता नयाँ प्रविधिहरूप्रति युवा पुस्ता बढी जानकार र सहज देखिन्छन् । यस्ता युवा नेतृत्वकर्ताहरू प्रायः लचिलो, परिवर्तनशील र जोखिम लिन तयार हुन्छन्, जुन प्रविधिको द्रुत गतिमा परिवर्तन हुँदै जाने स्वभावसँग मेल खान्छ ।

प्रविधि कम्पनीहरूमा युवा नेतृत्वकर्ताहरूले प्रायः लचिलोपन, विविधता र सिर्जनात्मकतालाई प्राथमिकता दिने कार्यसंस्कृति विकास गर्छन् । यो कुरा युवा कर्मचारीहरूद्वारा अधिक मूल्यांकन गरिन्छ ।

युवा कार्यकारीहरूले नेतृत्व गर्ने कम्पनीहरूमा प्रायः कर्मचारी सन्तुष्टि र संलग्नताको स्तर उच्च रहेको हुन्छ र खासगरीमिलेनियल र जेन जेड पुस्ताबीचमा यो प्रवृत्ति अधिक देखिन्छ । उनीहरू यस्तो कार्यसंस्कृति मन पराऊँछन् जसले समावेशिता, व्यक्तिगत विकास र व्यत्तिगत जीवन तथा काम सन्तुलनमा जोड दिन्छ ।

विश्वव्यापी परिवर्तन

कोभिड महामारीपछि अझ तीव्र भएको डिजिटल रूपान्तरणतर्फको विश्वव्यापी प्रवृत्तिले युवा नेतृत्वकर्ताहरूलाई अझ सशक्त बनाएको छ । सानैदेखि क्लाउड कम्प्युटिङ, भर्चुअल रियालिटी र मोबाइल प्रविधिहरूमा जानकार ‘डिजिटल नेटिभ’ पुस्ता महामारीले सिर्जना गरेको अवसरका कारण स्वाभाविक रूपमा नेतृत्वकर्ताको भूमिकामा अगाडि आएका छन् । व्यवसायहरूलाई द्रुत र गहन डिजिटल परिवर्तन आवश्यक परेको बेलामा युवाको यस्तो हस्तक्षेपकारी भूमिका सर्वथा अत्यावश्यक भयो ।

तर, युवा नेतृत्वको बढ्दो प्रभावसँगै केही चुनौतीहरू पनि देखापरेका छन् । संकट व्यवस्थापनको अनुभव, परिपक्वता र दीर्घकालीन रणनीतिक सोँचजस्ता विषयमा बेलाबखतमा प्रश्न उठ्ने गर्छन् । नवप्रवर्तनशील र उत्साही भए पनि युवा नेताहरूले कहिलेकाहीँ विश्व बजारको जटिलताको बुझाइ वा आर्थिक मन्दी सामना गर्नसक्ने क्षमताका बारेमा आलोचना भोग्नुपर्ने हुन्छ ।

त्यसैले, धेरै कम्पनीहरूले युवा नेतृत्वहरूको नवीन सोचलाई अनुभवी सल्लाहकार वा गुरुहरूसँग मिलाएर सन्तुलन कायम गर्छन् । यस्तो हाइब्रिड नेतृत्व मोडेलले युवाको जोश र नयाँ सोचसँगै अनुभवको मार्गदर्शनलाई पनि समेट्छ । यसका लागि प्रायः कम्पनीहरूले गैर कार्यकारी निर्देशक नियुक्त गर्छन्, जसले परिपक्वताको प्रभाव सुनिश्चित गरी लगानी र करोडौं डलरको आम्दानी सुरक्षित राख्न मद्दत गर्छन् ।

अन्ततः प्रविधि क्षेत्रमा युवा नेतृत्वको बढ्दो उपस्थिति एउटा व्यापक सामाजिक परिवर्तनको संकेत हो । आजभोलि प्रविधिले हाम्रो दैनिक जीवनलाई तीव्र रूपमा प्रभावित गरिरहेकाले यो क्षेत्रको विकासको नेतृत्व पनि क्रमशः युवाहरुको काँधमा गईरहेको छ । यसले प्रविधि क्षेत्रको अग्रगामी, नवप्रवर्तनशील र लचिलो स्वभावलाई प्रतिबिम्बित गर्छ ।

युवापुस्ता |सूचना प्रविधि

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here