प्रधान सेनापति शर्मा र अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख फ्लिनबीच भेटवार्ता
२७ जेठ, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनबीच भेटवार्ता भएको छ।
शुक्रबार भएको भेटवार्तामा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।
चार दिने नेपाल भ्रमणमा रहेका फ्लिनलाई जङ्गी अड्डामा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो। सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरणसमेत गरिएको जङ्गी अड्डाले जनाएको छ।
मित्रराष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरुको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सद्भाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
फ्लिनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको जङ्गी अड्डाले जनाएको छ।
भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लिनले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्