प्रधानमन्त्री कप महिला क्रिकेटमा एपिएफले जित्यो उपाधि
१२ पुस, धनगढी । विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै एपिएफ च्याम्पियन भएको हो। उपाधि जितेसँगै विभागीय टिम एपिएफले नगद ५ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता भएको प्रदेश १ ले नगद ३ लाखसहित ट्रफी र मेडल पाएको छ।
एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट क्षतिमा ६७ रन बनायो। खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाइन्। अप्सरी वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्। एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिइन्।
प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्यो। एपिएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन्। ममता चौधरीले १७ रन थपिन्।
७ रनमा दुई विकेट गुमाएर दवावमा आएको एपिएफलाई ज्योति र ममताले जितसम्म डोर्याएकी हुन्। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन्। खेलमा एपिएफकी सीता राना मगर प्लेयर अफ द म्याच भइन्। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा पुस ३ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको छ।
यस्तै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि एपिएफले कब्जा गर्दा प्रतियोगिताका विधामा भने प्रदेश १ ले कब्जा जमाएको छ। प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सओम्यान र उत्कृष्ट बलर गरी तीन वटै विधामा प्रदेश १ ले बाजी मारेको हो।
प्रदेश १ की कप्तान रुविना क्षेत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन्। उनले नगद २५ हजारसहित मेडल पाइन्। उनले प्रतियोगितामा ५ खेल खेल्दा १५७ रन बनाइन्। जसमा उनको एक अर्धशतक सामेल रहेको छ। सर्वाधिक ७६ रनको पारी खेलेकी उनले प्रतियोगितामा १९ चौका प्रहार गरिन्।
प्रतियोगितामा प्रदेश १ की अप्सरी वेगम उत्कष्ट ब्याट्ओम्यान भइन्। उनले प्रतियोगितामा एक सय ७६ रन बनाइन्। जसमा उनले दुई वटा अर्धशतक बनाएकी थिइन्।
प्रतियोगितामा प्रदेश १ कै अलिशा खाडिया उत्कृष्ट बलर भइन्। उनले प्रतियोगिताका ५ खेलमा ९ विकेट लिइन्। १७ ओभर बलिङ गरेकी उनले २ दशमलव ५२ को इकोनोमी राख्दा ५ ओभर मेडन गर्दै ४३ रन खर्चिन्।
प्रतिक्रिया दिनुहोस्