प्रधानमन्त्री ओली नेतृत्वका सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् ।

धुनषा–४ का सांसद महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

frontline

महासेठ मन्त्रिपरिषदमा सहभागी हुँदा प्रदीप ज्ञवाली भने पदमुक्त भएका छन् ।

३ फागुन २०७४ को ओली प्रधानमन्त्री बनेपछि ज्ञवाली परराष्ट्र मन्त्री बनेका थिए ।

प्रधानमन्त्रीका भरपर्दा मन्त्री रहेका ज्ञवाली नेकपा एमालेभित्र दोस्रो पुस्ताका प्रभावशाली नेता हुन् ।

एमालेभित्र राम्रै पकड रहेका ज्ञवालीलाई प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

ज्ञवाली परराष्ट्रमन्त्री रहँदा नेपालको नयाँ नक्सा जारी हुने, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लगायत महत्वपूर्ण काम पनि भयो ।

तर ज्ञवालीलाई विदा गरेर परराष्ट्र मन्त्रालयमा महासेठलाई ल्याइएको छ ।

ज्ञवालीसँगै २०७४ मा मन्त्री बनेका महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए ।

प्रधानमन्त्री ओलीले ५ मंसिर २०७६ मा महासेठलाई हटाएर बसन्त नेम्वाङलाई मन्त्री बनाए ।

तर यसपटक महासेठ उपप्रधानमन्त्री समेत बनेका छन् ।

महासेठ विष्णुप्रसाद पौडेल पछिको वरियतामा उपप्रधानमन्त्री बनेका छन् ।

एमालेभित्र वामदेव गौतम निकट भनेर चिनिने महासेठ गुट फेर्दै २०७४ मा मन्त्री बनेका थिए ।

तर कार्यसम्पादन चित्त नबुझेको भन्दै प्रधानमन्त्री ओलीले पदमुक्त गरेका थिए ।

तिनै महासेठले यसपटक परराष्ट्र जस्तो महत्वपूर्ण भूमिका पाएका छन् ।

यसपटक पनि महासेठले पुरानै शैली अपनाए ।

गएको ५ पुसमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा महासेठ ओली इतर समूहतिर उभिएका थिए ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक हुँदै ओली इतर केही कार्यक्रममा समेत सहभागी भए ।

तर केही दिनमै फेरि बालुवाटारतिर नजिक भए ।

ओलीलाई साथ दिए बापत गएको १० पुसमा महासेठकी पत्नी जुली महतो मन्त्री बनिन् ।

एमालेका समानुपातिक सांसद महतो महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।

तर महतो पाँच महिनापछि पदमुक्त भएकी छन् ।

अर्थात् ओली नेतृत्वको सरकारमा महासेठ–महतो दम्पत्ति आलोपालो मन्त्री बनेका छन् ।

लामो समय एमालेमा वामदेव गौतमसँग रहेका महासेठ २०७१ साउनमा सम्पन्न नवौं सचिव पदका उम्मेदवार थिए ।

केपी शर्मा ओलीको प्यानलबाट सचिव लडेका महासेठ केन्द्रीय सदस्यमा समेत पराजित भए ।

एमालेमा पदाधिकारीको उम्मेदवार हुनेले केन्द्रीय सदस्यमा समेत लड्न पाउने व्यवस्था छ ।

यदि, पदाधिकारी पराजित भए केन्द्रीय कमिटीबाट नबाहिरिउन् भन्ने उद्देश्यसहित दोहोरो उम्मेदवारीको व्यवस्था गरिएको थियो ।

तर महासेठ दुवै पदबाट पराजित भएका थिए ।

महासेठ २०५४ मा एमाले विभाजन भएपछि मालेको केन्द्रीय सदस्य बनेका थिए ।

एमालेको २०५९ को सातौ महाधिवेशनबाट महासेठ केन्द्रीय सदस्य बने ।

आठौंमा भने केन्द्रीय सदस्य पराजित भएका थिए ।

त्यसबेला ओली इतर समूहबाट उनको उम्मेदवारी थियो ।

साथ दिनेलाई मन्त्री उपहार

प्रधानमन्त्री ओलीलाई साथ दिए बापत दम्पतीले नै मन्त्री पाउनेमा महासेठ र महतो मात्रै होइनन् ।

माधव नेपालको गुट छोडे बापत शेरबहादुर तामाङ र उषाकला राईले पनि मन्त्री पद पाए ।

शुक्रबार तामाङ स्वास्थ्य मन्त्री बने ।

तामाङको पनि ओली सरकारमा दोस्रो इनिङ हो ।

२०७४ मा तामाङ कानून मन्त्री बनेका थिए ।

तर अभिव्यक्ति विवादमा परेपछि उनले राजीनामा दिएका थिए ।

नेकपा विभाजित हुँदा गुट फेरेर ओलीतिर लागेपछि तामाङ स्वास्थ्य मन्त्री बनेका छन् ।

प्रदेश–१ मा गएको चैतमा मात्रै उषाकला राई सामाजिक विकास मन्त्री बनिसकेका छन् ।

तामाङ सिन्धुपाल्चोक–२ प्रत्यक्ष निर्वाचित सांसद हुन् भने राई प्रदेश १ मा समानुपातिक सांसद छन्

। गुट फेरेपछि ओलीले तामाङलाई बागमती प्रदेश सहइन्चार्ज, सिन्धुपाल्चोक इन्चार्ज र केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here