प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अपेक्षित हो, यसको तयारी चलिरहेको छ : परराष्ट्र मन्त्रालय

१९ असार , काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमण अपेक्षित भएको र यसको तयारी चलिरहेको जानकारी दिइन्।

frontline

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको कुरा चलिरहेको छ। तयारी भइरहेको छ। अपेक्षित भ्रमण हो,’ प्रवक्ता लम्सालले भनिन्, ‘भ्रमणका कार्यक्रमहरुमा निमन्त्रण दिने, स्वीकार गर्ने, मिति तय गर्ने प्रक्रिया हुन्छ। सबै प्रक्रियाहरु पूरा भइसकेपछि मिति घोषणा हुन्छ। मिति घोषणा भएपछि थप जानकारी दिनेछौं।’

प्रधानमन्त्री देउवा अमेरिकाको औपचारिक निमन्त्रणामा भ्रमणमा जान लागेका हुन्। निमन्त्रणा आएको लामो समय भए पनि मिति तय हुन सकेको छैन।

परराष्ट्रमन्त्री चीन जाने

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको तयारी भइरहेको पनि जानकारी दिइन्।

‘परराष्ट्र मन्त्रीको चीन भ्रमणको तयारी भइरहेको छ। नियमित भ्रमण हो। एजेण्डाहरु तय हुन बाँकी छ। महत्वपूर्ण छिमेकी मित्र भएकाले भ्रमण आदानप्रदान हाम्रो कार्यक्रममा छ,’ प्रवक्ता सेवा लम्सालले भनिन्, ‘केही अगाडि चिनियाँ विदेशमन्त्रीको भ्रमण भयो। त्यो हिसाबले हाम्रो परराष्ट्रमन्त्रीको पनि उपयुक्त समयमा हुनेछ। त्यो समयमा विस्तृत जानकारी गराउनेछौं।’ 

भ्रमणअघि परराष्ट्रमन्त्री खड्काले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भर्चुअल वार्ता गरेका थिए। उक्त वार्तामा द्विपक्षीय सम्बन्धका विषय, आसन्न भ्रमणको विषय, सीमालगायत विषयमा छलफल भएको प्रवक्ता लम्सालले जानकारी दिइन्। ‘उक्त वार्तालाई भ्रमणलगायत विषयको तयारीको रुपमा लिनुपर्छ,’ उनले भनिन्।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले पूर्व गोर्खा सैनिकहरूको जायज माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। ‘हरेक भेटघाट र छलफलमा उच्च प्राथमिकताका साथ उठाएका छौं। न्याय र समानताका आधारमा माग सम्बोधन हुनुपर्छ,’ उनले भनिन्। नेपाली राजदूत र बेलायतको वार्ता टोलीबीच लण्डनमा प्रारम्भिक छलफल भएको जानकारी दिँदै उनले नेपाली दूतावास बेलायती रक्षा मन्त्रालयसँग निरन्तर सम्वादमा रहेको उल्लेख गरिन्।

९ राजदूत नियुक्त, ११ प्रक्रियामा

प्रवक्ता लम्सालले चैत २४ गते मन्त्रिपरिषद्ले सिफारिस गरेका २० राजदूतमध्ये ९ जना नियुक्त भएको जानकारी दिइन्। जसमा कतार, चीन, अष्ट्रेलिया, अष्ट्रिया, ओमान, बहराइन, साउदी अरेबियालगायत रहेका छन्। बाँकी ११ मुलुकको प्रक्रियामा रहेको छिट्टै नियुक्त हुने जानकारी दिइन्।

उनले नेपालको १७७ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको पत्रकार सम्मेलनमा जानकारी दिइन्।

परराष्ट्रले हालसम्म ४ लाख १६ हजार दुई सय विद्युतीय राहदानी वितरण गरिएको प्रवक्ता लम्सालले जानकारी दिइन्। मन्त्रालयकाअनुसार जेठ मसान्तसम्म ३ अर्ब १७ करोड ४६ लाख २० हजार ७३१ रुपंयाँ राजस्व संकलन भएको छ।

भुटानसँग व्यापार वार्ता

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले भुटानसँग ट्रेडबारे द्विपपक्षीय कुराकानी भएको बताइन्। ‘वाणिज्य मन्त्रालयको द्विपक्षीय संयन्त्रको वार्ता हो,’ उनले भनिन्।

भुटानी शरणार्थी समस्याबारे पनि भुटानसँग निरन्तर आवाज उठाउँदै आएको उनले जानकारी दिइन्। ‘यो पोलिटिकल इस्यु उच्च तहबाट जान्छ। हाम्रो आफ्नो पहलकदमी धेरै अगाडिदेखि छ । भुटानसँग जुनसुकै तहमा भेटघाट हुँदा त्यो कुरालाई महत्त्व दिएर उठाउने गरेका छौं,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here