प्रधानमन्त्रीओली सरकारका असंवैधानिक कदमबारे प्रतिवाद गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
आइतबार बिहान बसेको बैठकमा कांग्रेसका नेताहरूसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।
बैठकमा सरकारले ल्याएको बजेटबारे पनि समीक्षा भएको थियो। सरकारले अध्यादेशबाट बजेट ल्याएकोमा उनीहरूले आपत्ति जनाएका छन्।
विपक्षी दलहरूले सरकारका कदमबारे विज्ञप्ति निकालेर विरोध गर्ने निर्णय पनि गरेका छन्।
प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च गएका विपक्षी ५ दलले कोरोनाका बेला कसरी राजनीतिक प्रतिवाद गर्ने भन्नेबारे पनि छलफल गरेका थिए।
सरकारले गरेका एकपछि अर्का असंवैधानिक कदमको विरोध गर्नेबारे आज छलफल गरिएको बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।
दलहरूले राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक कदमबारे राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्