प्रधानमन्त्रीओलीले नियुक्त गरेका सात मन्त्रीलाई काम नगराउन आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित सात मन्त्रीलाई काम नगराउन आदेश गर्‍यो। 

प्रधानमन्त्री ओलीले वैशाख ३१ मा संघीय सांसदका सदस्य नरहेका सात मन्त्री नियुक्त गरेर सपथसमेत गराएका थिए।  सर्वोच्च अदालतले भने उनीहरूलाई प्रधानमन्त्री ओलीले संविधानविपरीत नियुक्त गरेको भन्दै मन्त्रीका हैसियतमा कुनैपनि काम नगराउन भनेको हो। 

frontline

बादल, मणिचन्द्र थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट, गौरीशंकर चौधरी, दावा लामा तामाङ र प्रभु साहलाई गरिएको पुन:नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले बुधबार छुट्टाछुट्टै रिट दायर गरेका थिए।

उक्त रिटमाथि पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले उनीहरूलाई गरिएको नियुक्ति र सपथग्रहण लगायतका काम संविधान अनुकूल नभएकाले मन्त्रीको हैसियतमा काम नगराउन आदेश गरेको छ।

नेपालको संविधानको धारा ७८को उपधारा १ मा संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउन सक्ने उल्लेख भए पनि उपधारा २ मा त्यस्तो व्यक्तिले मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने उल्लेख छ। उपधारा ३ मा भने उक्त अवधिमा सदस्यता प्राप्त गर्न नसेकमा उक्त प्रतिनिधिसभा कार्यकालभरि पुन: नियुक्तिका लागि उपयुक्त नहुने उल्लेख छ।सर्वोच्च अदालतले यही संविधानको धाराअनुसार ती मन्त्रीलाई पुन: नियुक्त गर्न नमिल्ने बताएको हो।

‘उल्लेखित व्यवस्था हेर्दा धारा ७८ (१) अनुसार नियुक्त मन्त्रीले सपथ खाएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्ने अवस्था देखिँदा निज प्रत्यर्थीहरूलाई पुन: दोस्रो पटक नियुक्त गरिएको कार्य प्रथम दृष्टिमा नै संविधानको धारा ७८को उपधारा १,२,३ को व्यवस्था संविधानको मूल मर्म र भावनाकोविपरीत भएको देखिँदा यो निवेदनको अन्तिम टुंगो नलागेसम्म यसरी प्रत्यर्थीहरूलाई मन्त्री बनाउन सिफारिस गरी नियुक्ति गरिएको र सपथग्रहण लगायतका कार्यहरू संविधानअनुकूल नरहेकाले मन्त्रीको हैसियतमा कुनै पनि काम कारबाही नगर्नू, गर्न नदिनू भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ सर्वोच्चको आदेशमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले वैशाख २७ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिन खोज्दा पाएका थिएनन्। त्यससँगै प्रधानमन्त्री ओली पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको गठन आह्वान गरेकी थिइन्। उनले दिएको तीन दिनको अवधिमा कसैले पनि नयाँ सरकार दाबी नगरेपछि संसदको सबभन्दा ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओलीलाई नै फेरि प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

संविधानको धारा ७६को उपधारा ३ बमोजिम दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीले सोही दिननै मन्त्रिपरिषद विस्तार गरेका थिए। पुरानै मन्त्रिपरिषद्का सदस्यलाई पुन: नियुक्त गरेका थिए।तीमध्ये गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु शाह, खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दाबा तामाङ, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री गौरीशंकर चौधरी संघीय संसदका सदस्य होइनन्।थापा भने आज बाग्मती प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा उमेद्वार छन्।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here