प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा ज्ञानेन्द्र शाही

 राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले पार्टीको जारी केन्द्रिय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक …कामकाज एकातिर कुम्लो बोकि ठिमितिर त भएन ?’

frontline

राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर मूल एजेण्डामा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ ।

संविधान संशोधनको विषयमा राजनीतिक दलहरूका बीचमा छलफल चलिरहेकाले राप्रपाले पनि यो विषयमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने शाही बताउँछन् ।

संविधान संशोधन गराउन दबाबमुलक कार्यक्रम गर्नु पर्ने भन्दै उनले संविधान संशोधनका विषय के कस्ता हुन सक्छन् भनेर पनि लेखेका छन् ।

संविधान संशोधनका एजेण्डाको पहिलो नम्बरमै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेका छन् । एक जना व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी संविधान संशोधन गर्नुपर्नेमा पनि उनको जोड छ ।

‘जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था’, राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीको प्रस्ताव छ ।

प्रदेश संरचना, धर्म निरपेक्षता, राष्ट्रपति र राजाको बारेमा जनमत संग्रह जस्ता विषयमा समेत उनले पार्टीले निर्णय लिनुपर्ने बताएका छन् ।

संविधान संशोधनका लागि अन्य एजेण्डा समेत पार्टीले अगाडि बढाउनुपर्नेमा शाहीको जोड छ ।

‘भ्रष्टाचारीहरूलाई आजीवन कारावास र सम्पत्तिहरण गर्ने कानुन निर्माण तथा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार, युवाहरूलाई रोजगारीको ग्यारेन्टी’ संविधान संशोधनबारे शाहीका प्रस्तावित एजेण्डा छन् ।

कर्मचारी तथा शिक्षकहरूलाई राजनीति गर्न बन्द गरिनुपर्ने र यसका लागि आवश्यक प्रबन्ध संविधानमै राखिनुपर्नेमा पनि उनको जोड रहेको छ ।

तर, यस्ता एजेण्डामा पार्टीको केन्द्रीय समिति केन्द्रित नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

अगाडि लेख्छन्, ‘तर हामी हामी एकअर्कालाई आरोप र प्रत्यारोप लगाएर पार्टीको केन्द्रीय समिति जस्तो बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेका छौँ जो आफैँमा कुनै पनि प्रगति र परिणाम दिने काम होइन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here